असार २४ रौतहट : रौतहटमा आगामी २०८४ सालको स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै राजनीतिक गतिविधि दिनप्रतिदिन बढ्न थालेको छ। जिल्लाका विभिन्न स्थानीय तहमा सम्भावित उम्मेदवारहरूले जनसम्पर्कलाई तीव्र बनाइरहेका बेला फतुवा विजयपुर नगरपालिकामा पनि चुनावी माहोल तातिएको छ। यसैक्रममा निलम्बित नगरप्रमुख गोपाल यादवका छोरा आदित्य यादव पनि विभिन्न जनभेटघाट र चुनाव केन्द्रित गतिविधिमा सक्रिय रहेको चर्चा स्थानीय स्तरमा भइरहेको छ।
गोपाल यादव २०७४ सालको स्थानीय तह निर्वाचनमा फतुवा विजयपुर नगरपालिकाको नगरप्रमुखमा निर्वाचित भएका थिए। त्यसपछि २०७९ सालको निर्वाचनमा पनि उनी पुनः नगरप्रमुखमा निर्वाचित भएका थिए। तर दोस्रो कार्यकालका क्रममा नदीजन्य पदार्थको ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचारको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि उनी निलम्बनमा परेका थिए। उक्त मुद्दा हाल न्यायिक प्रक्रियामा रहेको छ।
स्थानीयवासीको एकथरीले गोपाल यादवको दुई कार्यकालमा अपेक्षाअनुसार विकास हुन नसकेको, चुनावका बेला गरिएका धेरै प्रतिबद्धता पूरा नभएको तथा नगरपालिकाको समग्र विकास प्रभावित भएको आरोप लगाउँदै आएका छन्।
केही स्थानीयको दाबी अनुसार नगरसभा सञ्चालनका क्रममा पनि पटकपटक विवाद सिर्जना भएको थियो, जसका कारण नगरपालिकाको नियमित कामकारबाही प्रभावित भएको उनीहरूको भनाइ छ।।यता, स्थानीय राजनीतिक वृत्तमा गोपाल यादव आफैं आगामी निर्वाचनमा उम्मेदवार बन्न कानुनी रूपमा कठिनाइ हुन सक्ने आकलनका बीच उनका छोरा आदित्य यादवलाई चुनावी मैदानमा उतार्ने तयारी भइरहेको चर्चा पनि चुलिएको छ। यसलाई लिएर नगरभित्र विभिन्न प्रतिक्रिया देखिएका छन्। केहीले यसलाई राजनीतिक उत्तराधिकारको प्रयासका रूपमा व्याख्या गरेका छन् भने केहीले नयाँ पुस्ताको नेतृत्वका रूपमा हेर्नुपर्ने धारणा पनि व्यक्त गरेका छन्।
यद्यपि, गोपाल यादव वा आदित्य यादवले यी आरोप तथा चर्चाबारे सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएका छैनन्। आगामी स्थानीय तह निर्वाचन नजिकिँदै जाँदा फतुवा विजयपुर नगरपालिकामा विकास, सुशासन, नेतृत्व र जनविश्वासका विषयहरू प्रमुख चुनावी एजेन्डाका रूपमा स्थापित हुने देखिएको छ।

