जनता माध्यमिक विद्यालय रजघट्टाको ४० औँ वार्षिकोत्सव तथा ४१ औँ अभिभावक दिवस सम्पन्न

पछिल्लाे समाचार

पुष १७ सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१४ रजघट्टामा रहेको जनता माध्यमिक विद्यालयको ४० औँ वार्षिकोत्सव तथा ४१ औँ अभिभावक दिवस समारोह बिहीबार भव्य रूपमा सम्पन्न भएको छ।विद्यालय व्यवस्थापन समितिका सदस्य रुद्र न्यौपानेको स्वागत मन्तव्यसहित सुरु भएको कार्यक्रम विद्यालयकै प्राङ्गणमा आयोजना गरिएको थियो। कृषि प्राविधिक शिक्षालय समेत सञ्चालन गर्दै आएको उक्त विद्यालयले वार्षिकोत्सव तथा अभिभावक दिवस एकैसाथ मनाएको हो।

वार्षिकोत्सवको अवसरमा विद्यालयले विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार प्रदान गर्नुका साथै विद्यालयको शैक्षिक, भौतिक तथा व्यवस्थापकीय विकासमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गरेको छ। कार्यक्रम जीतपुरसिमरा उपमहानगरपालिका–१४ का वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चयन गुरुङको सभाअध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा नेपाल सरकारका पूर्व खेलकुद मन्त्री पुरुषोत्तम पौडेलको उपस्थिति रहेको थियो।

सभाअध्यक्ष चयन गुरुङले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न स्थानीय सरकार, विद्यालय परिवार र अभिभावकबीच सहकार्य आवश्यक रहेको बताए। उनले पछिल्ला वर्षहरूमा विद्यालयले शैक्षिक तथा भौतिक पूर्वाधारमा उल्लेखनीय प्रगति गरेको उल्लेख गर्दै प्राविधिक शिक्षालाई अझ प्रभावकारी बनाउन आफूहरू निरन्तर लागिरहेको बताए। “जनता माविलाई नमूना विद्यालयका रूपमा विकास गर्ने हाम्रो लक्ष्य हो,” उनले भने।

विद्यालयका प्रधानाध्यापक राजु अधिकारीले ४० औँ वार्षिकोत्सवका अवसरमा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै पछिल्लो एसईई परीक्षामा जिल्लामै ६० प्रतिशत नतिजासहित दोस्रो स्थान हासिल गर्न सफल भएको जानकारी दिए। उनले विद्यालयले सञ्चालन गर्दै आएको ‘अर्न एन्ड लर्न’ कार्यक्रमअन्तर्गत कृषि अध्ययन गरेका चार जना विद्यार्थी हाल इजरायलमा कार्यरत रहेको तथा कोरियामा पनि कृषि विषय अध्ययन गरेका विद्यार्थीलाई रोजगारीमा पठाउने तयारी भइरहेको बताए।

कार्यक्रममा बोल्दै जीतपुरसिमरा उपमहानगरपालिका–१५ का वडा अध्यक्ष रामप्रसाद लामिछानेले जनता माध्यमिक विद्यालयले प्राविधिक शिक्षामा फड्को मारे पनि पछिल्लो समय सो धारमा विद्यार्थी संख्या घट्नु राज्यको कमजोरीका कारण भएको बताए। उनले विद्यालयमा पहिलाभन्दा धेरै सुधार आएको समेत उल्लेख गरे। प्रमुख अतिथि पूर्वमन्त्री पुरुषोत्तम पौडेलले शिक्षा क्षेत्रमा अझै पनि देश पछाडि रहेको बताउँदै यसको कारण पहिचान गरी शिक्षाको स्तर उकास्न सके मात्र जीवनमा सफलता हासिल गर्न सकिने धारणा राखे। उनले शिक्षा भागबन्डाको विषय नभई जति लियो उति नै उपयोगी हुने भएकाले सबैलाई शिक्षा हासिल गर्न आग्रह गरे। साथै विदेश पलायनका कारण देश ज्ञान र विवेकविहीन बन्दै गएको बताउँदै स्वदेशमै ज्ञानको प्रयोग गर्न सके नेपाल पनि समृद्ध बन्न सक्ने बताए।

कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला प्रसाद अधिकारी, अभिभावक, शिक्षक–शिक्षिकालगायतको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रधानाध्यापक बरुन गौतमले गरेका थिए।

ad

spot_imgspot_img
spot_img

लोकप्रिय