इच्छा वाग्ले द्वारा करोडौको जग्गा मन्दिरलाई हस्तान्तरण

पछिल्लाे समाचार

अखिलेश कुमार यादव |पुष २३ सिमरा : बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ मा अवस्थित दुर्गा पूजा सेवा समितिलाई १ कठा ४ धुर जग्गा हस्तान्तरण गरिएको छ। बुधबार आयोजित एक कार्यक्रमका बीच स्थानीय समाजसेवी तथा होटल इच्छा का सञ्चालक इच्छा बहादुर वाग्लेले आफ्नो निजी नाममा रहेको उक्त जग्गा दुर्गा मन्दिरको नाममा हस्तान्तरण गरेका हुन्।

दुर्गा मन्दिर सेवा समितिका अध्यक्ष सुशिक दोधारीको अध्यक्षता तथा जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जग्गा औपचारिक रूपमा मन्दिर समितिलाई हस्तान्तरण गरिएको हो। कार्यक्रममा बोल्दै दाता इच्छा बहादुर वाग्लेले आफूले यसअघि गरेको प्रतिबद्धताअनुसार मन्दिरको नाममा जग्गा हस्तान्तरण गरिएको बताए। करिब करोडौं मूल्य पर्ने उक्त जग्गा धार्मिक तथा सामाजिक प्रयोजनका लागि उपयोग हुने उनले बताए। वाग्लेले विगत १० वर्षदेखि जीतपुरसिमरा क्षेत्रको विकासमा निरन्तर योगदान दिँदै आएको उल्लेख गर्दै मधेश प्रदेशमै पहिलो पाँचतारे होटल सिमरामा स्थापना गरी बाराको नाम अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल भएको दाबी गरे।

उनले पर्सा राष्ट्रिय निकुञ्जलाई आगामी पाँच वर्षभित्र प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य रहेको बताउँदै अबको ७ वर्षभित्र जीतपुरसिमरा उपमहानगरपालिका जनताले कल्पना नगरेको स्तरको विकासतर्फ अघि बढ्ने दाबी गरे। इच्छा कोलोनीलगायत विभिन्न क्षेत्रको विकासमा आफूले यसअघि पनि सहयोग गर्दै आएको र आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा नगरप्रमुख राजन पौडेलले इच्छा बहादुर वाग्लेले जीतपुरसिमराको आर्थिक, सामाजिक तथा पूर्वाधार विकासमा अहम भूमिका खेलेको बताए। उनले आगामी फागुन २१ गतेदेखि सुरु हुने प्रतिनिधिसभा निर्वाचनमा वाग्लेले उम्मेदवारी दिने चर्चा सुन्न पाएको उल्लेख गर्दै शुभकामना व्यक्त गरे। साथै, लामो समयदेखि विवादमा रहेको पाण्डे परिवारको मुद्दा समाधानमा समेत वाग्लेले सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे। मन्दिर निर्माणदेखि अन्य सामाजिक कार्यमा उपमहानगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि उनले जनाए। दुर्गा मन्दिर सेवा समितिका अध्यक्ष सुशिक दोधारीले वाग्लेले मन्दिर तथा समुदायप्रति देखाएको सहयोग र समर्पण उदाहरणीय रहेको बताउँदै यस जग्गाले मन्दिरको दीर्घकालीन विकासमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे। “धार्मिक, सांस्कृतिक तथा सामाजिक गतिविधिका लागि यो जग्गा अत्यन्त महत्वपूर्ण हुनेछ,” उनले भने।कार्यक्रमको अन्त्यमा दुर्गा मन्दिर सेवा समितिले दाता इच्छा बहादुर वाग्लेलाई विशेष सम्मानसमेत प्रदान गरेको थियो।

ad

spot_imgspot_img
spot_img

लोकप्रिय