६८ वर्षपछि पहिलो पटक वार्षिकोत्सब मनाउँदै सिमराको नेपाल राष्ट्रिय मावि

पछिल्लाे समाचार

पुष २४ कलैया : श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, सिमराको ६८ औँ वार्षिकोत्सब कार्यक्रम बिहीबार औपचारिक रूपमा उद्घाटन गरिएको छ। विद्यालय स्थापना भएदेखि पहिलो पटक वार्षिकोत्सब आयोजना गरिएको हो।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण अधिकारीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा सूर्य नेपाल प्रालिका प्रबन्धक प्रमुख सुरेश काजी श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा विद्यालयको कार्य प्रगति विवरण प्रधानाध्यापक शंकर आचार्यले प्रस्तुत गर्नुभयो।

कार्य प्रगति प्रस्तुत गर्दै प्रधानाध्यापक आचार्यले विद्यालय स्थापना कालदेखि निरन्तर अध्यापन गराइरहेका शिक्षक–शिक्षिकाको योगदानकै कारण विद्यालयले अभिभावकको विश्वास जित्न सफल भएको बताउनुभयो। उहाँले हाल विद्यालयमा कक्षा कोठाको अभाव रहेको, भौतिक संरचना तथा प्राविधिक सुविधा थप्न आवश्यक रहेको उल्लेख गर्नुभयो। सूर्य नेपाल प्रालिको १५ लाख रुपैयाँको लागतमा स्मार्ट बोर्डसहित प्राविधिक ल्याब निर्माणमा सहयोग भएको जानकारी दिँदै कक्षा ११ र १२ मा अध्ययनरत विज्ञान संकायका विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गर्दै आएको बताउनुभयो। भावी योजनाअन्तर्गत पार्किङ व्यवस्थापन, थप कक्षा कोठा निर्माण तथा कक्षा ११ र १२ का लागि छुट्टै कक्षा सञ्चालन गर्ने योजना रहेको र ती योजना कार्यान्वयनमा आउने चुनौतीबारे पनि उहाँले प्रकाश पार्नुभयो। सो अवसरमा विद्यालयको स्मारिका पनि विमोचन गरिएको थियो।

उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि श्रेष्ठले ६८ औँ वर्षमा प्रवेश गरेको विद्यालयले शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताउनुभयो। शिक्षा देशको मूल मेरुदण्ड भएकाले विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको उल्लेख गर्दै उहाँले त्यसका लागि भौतिक पूर्वाधार सुदृढीकरण आवश्यक रहेको धारणा राख्नुभयो। सूर्य नेपाल प्रालिले प्रशासनिक भवन, कम्प्युटर ल्याब सञ्चालन तथा स्मार्ट बोर्डमा सहयोग गरेको र आगामी दिनमा पनि नमूना विद्यालय बनाउने लक्ष्यसहित सक्दो सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठलाई मायाको चिनो प्रदान गरिएको थियो। दुई दिनसम्म सञ्चालन हुने वार्षिकोत्सब कार्यक्रम शुक्रबार समापन हुने आयोजकले जनाएको छ।

उद्घाटन कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ, वडा नं. १६ का वडाध्यक्ष हरिदेव खरेल, शिक्षा शाखा प्रमुख शिवजी प्रसादलगायत शिक्षक–शिक्षिका, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

ad

spot_imgspot_img
spot_img

लोकप्रिय