अखिलेश कुमार यादव ।पुष २५ सिमरा : नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमराको ६८ औं वार्षिकोत्सब विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ । बिहीबार उद्घाटन गरिएको वार्षिकोत्सब शुक्रबार औपचारिक कार्यक्रम, विज्ञान प्रदर्शनी, फुड फेस्टिभल तथा पूर्व विद्यार्थी भेलासहित सम्पन्न भएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण कुमार अधिकारीको अध्यक्षता तथा जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलको प्रमुख आतिथ्यतामा वार्षिकोत्सब कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै नगरप्रमुख राजन पौडेलले नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमरा जीतपुरसिमरा उपमहानगरपालिकाकै शैक्षिक पहिचान बनेको बताए ।

नगरप्रमुख पौडेलले गुणस्तरीय शिक्षा, अनुशासित शैक्षिक वातावरण र सक्षम जनशक्ति उत्पादनमा विद्यालयले खेलेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै स्थानीय सरकार विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि निरन्तर साथमा रहने प्रतिबद्धता व्यक्त गरे । सिमरालाई शैक्षिक हबका रूपमा विकास गर्न नेरा मावि सिमराको योगदान महत्वपूर्ण रहेको उनले बताए । त्यस्तै उपप्रमुख भोला प्रसाद अधिकारीले विशाल भौतिक पूर्वाधारसहित विभिन्न संकायमा अध्ययन हुँदै आएकोले जीतपुरसिमराका विद्यार्थीहरूलाई वीरगञ्ज जानुपर्ने बाध्यता हटेको बताए । बारामा पहिलो पटक कक्षा ११/१२ सञ्चालन गर्ने विद्यालयको रूपमा नेरा मावि सिमरा रहेको उल्लेख गर्दै वार्षिक १ लाख ५० हजार अनुदानबाट कक्षा ११/१२ को पढाइ सुरु भई निरन्तर रूपमा सञ्चालन हुँदै आएको जानकारी दिए ।

अभिभावकहरूको सक्रिय भूमिकाका कारण विद्यालयमा विद्यार्थी संख्या दिनानुदिन बढ्दै गएको उनले बताए । वार्षिकोत्सबकै अवसरमा पूर्व विद्यार्थी भेला पनि सम्पन्न भएको थियो । पूर्व विद्यार्थीका तर्फबाट बोल्दै शालिकराम अधिकारीले विद्यार्थीहरूको बहुआयामिक विकासका लागि वार्षिकोत्सब जस्ता कार्यक्रम अत्यन्तै सराहनीय रहेको बताए । उनले विद्यार्थी लक्षित कार्यक्रमहरू वार्षिक क्यालेन्डर बनाएर सञ्चालन गर्न सुझाव दिए । सिमरालाई शैक्षिक हब बनाउने अभियानमा नेरा मावि सिमराको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ थियो ।

कार्यक्रमका अवसरमा विज्ञान प्रदर्शनी तथा फुड फेस्टिभलको आयोजना गरिएको थियो । साथै २०५५ सालका पूर्व विद्यार्थीहरूले विद्यालयलाई १ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् भने प्राविधिक शिक्षा सञ्चालनका लागि व्यक्तिगत रूपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण कुमार अधिकारीले ५१ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरे ।सो वार्षिकोत्सवमा बिद्यालयका प्रधानाध्यापक शंकर अचार्याले वार्षिक प्रतिवेदन प्रस्तुत गरेको थियो ।उक्त कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा न २ का वडाध्यक्ष धन बहादुर श्रेष्ठ बिद्यालयका शिक्षक शिक्षिका , अभिभावक एवं बिद्यार्थीहरुको उपस्थिति रहेको थियो ।


