बागमती प्रदेश धानमा आत्मनिर्भर बन्ने संकेत

पछिल्लाे समाचार

हेटौंडा–उत्पादन र क्षेत्रफलमा बृद्धिसँगै बागमती प्रदेश धानमा आत्मनिर्भर बन्ने संकेत मिलेको छ । प्रदेशमा हालसम्म ९० प्रतिशत् रोपाईं सम्पन्न भएको हो । यसले धान उत्पादनमा प्रदेश आत्मनिर्भर हुने संकेत देखिएको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, हेटौंडाका अनुसार बागमती प्रदेशको कुल वर्षे धानले ढाक्ने १ लाख ३४ हजार २ सय ३८ हेक्टर क्षेत्रफलमध्ये मंगलबारसम्म १ लाख २१ हजार ३६ हेक्टर क्षेत्रफल अर्थात् ९० दशमलव ७७ प्रतिशत्मा रोपाईं सकिएको छ ।

समयमा मनसुन सुरु हुनु, कोभिडका कारण विदेशबाट फर्किएका र स्वदेशमा रहेकाहरु कृषि पेशामा लाग्नु, गाउँगाउँमा बसोबास बढ्नु, स्थानीय सरकारको कृषिमा सक्रियता, बाँझो जमिनमा खेती, प्रदेश सरकारको खाद्यान्नमा आत्मनिर्भर हुने अभियानलगायत प्रदेश सरकारका बोरिङ, सौर्य सिचाई तथा लिफ्ट सिचाईं, सिञ्चित क्षेत्र बिस्तार, कृषिमा यान्त्रिकीकरण आदि कारण धानखेती गरिने क्षेत्रफल वृद्धि भएको मन्त्रालयले जनाएको छ ।

प्रदेशको अन्न भण्डारका रुपमा चिनिने चितवनमा ९६ प्रतिशत् रोपाईं सकिएको छ । चितवनमा धानखेती हुने २८ हजार ६ सय हेक्टर क्षेत्रफलमध्ये २७ हजार ४ सय ५६ हेक्टर क्षेत्रफलमा रोपार्इं सकिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जानकारी दिएको छ ।

मकवानपुरमा ९८ प्रतिशत रोपाईं सकिएको छ । मकवानपुरमा ११ हजार हेक्टर क्षेत्रफलमध्ये १० हजार ७ सय ८० हेक्टर क्षेत्रफल अर्थात् ९८ प्रतिशत्मा रोपाईं सकिएको हो । नुवाकोटमा १४ हजार ५ सय हेक्टर क्षेत्रफलमध्ये ११ हजार ५ सय ६९ हेक्टर क्षेत्रफल अर्थात् ८१ प्रतिशत्मा रोपाईं सकिँदा रसुवामा १ हजार ९३ हेक्टर क्षेत्रफलमध्ये ९ सय ७ हेक्टर क्षेत्रफल अर्थात् ८३ प्रतिशत्, ललितपुरमा ४ हजार ६ सय हेक्टर क्षेत्रफलमध्ये ४ हजार ५ सय ५४ हेक्टर क्षेत्रफल (९९ प्रतिशत्), भक्तपुरमा ४ हजार ३ सय हेक्टर क्षेत्रफलमध्ये ४ हजार २ सय ५७ हेक्टर क्षेत्रफल अर्थात् ९९ प्रतिशतमा रोपाईं सकिएको छ ।

काठमाडौंमा पनि ७ हजार ८ सय ८० हेक्टर क्षेत्रफलमध्ये ७ हजार ८ सय १ हेक्टर क्षेत्रफल (९९ प्रतिशत्), काभ्रेपलाञ्चोकमा ११ हजार हेक्टर क्षेत्रफलमध्ये ९ हजार ३ सय ५० हेक्टर क्षेत्रफल (८५ प्रतिशत्), सिन्धुपाल्चोकमा १२ हजार २ सय ३५ हेक्टर क्षेत्रफलमध्ये ९ हजार ७ सय ८८ हेक्टर क्षेत्रफल (८० प्रतिशत्), रामेछापमा ८ हजार ८ सय १० हेक्टर क्षेत्रफलमध्ये ७ हजार ९ सय २९ हेक्टर क्षेत्रफल (९० प्रतिशत्), दोलखामा २ हजार ९ सय २० हेक्टर क्षेत्रफलमध्ये २ हजार ७ सय ७४ हेक्टर क्षेत्रफल (९५ प्रतिशत्), सिन्धुलीमा १५ हजार ३ सय हेक्टर क्षेत्रफलमध्ये १३ हजार ३ सय ११ हेक्टर क्षेत्रफल (८७ प्रतिशत्) रोपाईं सकिएको छ भने धादिङमा १२ हजार हेक्टर क्षेत्रफलमध्ये १० हजार ५ सय ६० हेक्टर क्षेत्रफल (८८ प्रतिशत्) मा रोपाईं सकिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय