हेटौंडामा पुष्पलालको शालिक “अँतर्घाती लालगद्धारप्रति घृणा र दया”

पछिल्लाे समाचार

हेटौंडा–नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवसको अवसरमा हेटौंडा–५ को पुष्पलाल पार्कमा स्थापना गरिएको पुष्पलाल श्रेष्ठको शालिकको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अनावरण गरेका छन् ।

पुष्पलाल पार्कमा रहेको श्रेष्ठको शालिकको मुख्यमन्त्री पौडेलले अनावरण गरेका हुन् । सालिक अनावरणपश्चात् नेकपा एमाले मकवानपुरको आयोजनामा भएको कार्यक्रममा मुख्यमन्त्री पौडेलले पुष्पलालका सिद्धान्तलाई आत्मसात् गर्न आग्रह गरे । पुष्पलालको दर्शन र सिद्धान्तमा नेकपा एमाले हालको स्थानमा आइपुगेकाले पछिल्ला घटनाक्रम देख्दा आफूलाई दुःख लागेको पौडेलले बताए ।

मुख्यमन्त्री पौडेलले विभाजित मानसिकताबाट नभएर कम्युनिष्ट आन्दोलनको मूलप्रवाहीकरणमा अन्य मित्रशक्तिलाई समेत समाहित गरेर अघि बढेमात्र पुष्पलालप्रति सही सम्मान हुने धारणा राखे ।

“पुष्पलालले प्रस्तुत गर्नुभएको विचारकै जगमा पञ्चायती व्यवस्था अन्त्य भएर बहुदलीय व्यवस्था स्थापना भएको थियो । २००६ मा उनको नेतृत्वमा स्थापित कम्युनिष्ट पार्टी विभिन्न आरोह–अवरोहको सामना गर्दै अघि बढेको छ । राजनीतिक अधिकारप्राप्तिको आन्दोलनले सफलता पाएसँगै अब हाम्रो प्राथमिक कार्यभार जनताको समृद्धिको आकांक्षालाई सम्बोधन गर्नु हो,” उनले थपे–समृद्ध नेपाल, सुखी नेपाली आकांक्षाको अभिव्यक्ति हो यो ।

मुख्यमन्त्री पौडेलले टुटफुट, एकता र विभाजनको अनेक शृंखला पार गर्दै अघि बढेको कम्युनिष्ट आन्दोलनले विगतको तीतामीठा अनुभवबाट सिकेर अगाडि बढ्न सक्दामात्र वर्तमानको कार्यभार पूरा गर्न सकिने उल्लेख गरे ।

पौडेलले व्यक्तिगत् कुण्ठा, द्वेष र अतृप्त आकांक्षा परिपूर्तिका लागि जनादेशको अवमूल्यन गर्दै कम्युनिष्ट आन्दोलनलाई वर्गशत्रुका अगाडि आत्मसमर्पण गराउने प्रवृत्तिप्रति सचेत र सजग रहँदै प्राप्त उपलब्धिबारे जनतालाई सुसूचित गर्नुपर्ने धारणा व्यक्त गरे । पौडेलले समृद्धिको सपनालाई यथार्थमा बदल्न मिल्ने जति सबैसँग मिल्न सकिने धारणा राखे ।

मुख्यमन्त्री पौडेलले नेकपा एमालेले विभाजित मानसिकतालाई छाडेर कम्युनिष्ट आन्दोलनको मूल उद्धेश्यलाई केन्द्रविन्दु बनाएर बाहिरी शक्तिलाई पनि एउटै शुत्रमा बाँध्न सकेमात्र पुष्पलालप्रति सम्मान हुने धारणा व्यक्त गरे ।

मुख्यमन्त्री पौडेलले कम्युनिष्ट पार्टीमा आफ्नै घरभित्र आगो लगाएर अरुको घरमा आगो ताप्ने काम भइरहेको भन्दै फेरि कम्युनिष्ट आन्दोलनलाई सशक्त बनाउनुपर्नेमा जोड दिएका थिए । उनले शिखरमा पुगिसकेको पार्टीलाई तल झार्न पार्टीभित्रैबाट षड्यन्त्र भइरहेको आरोपसमेत लगाउन भ्याए । यी सबै आरोप पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललक्षित थियो ।

कार्यक्रममा बागमती प्रदेशका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री सरेश नेपालले वर्तमान अवस्थामा सबैतिरबाट कम्युनिष्टलाई सिध्याउने खेल भइरहेकाले सजग भएर काम गर्नुपर्ने बताए । सामन्तवादविरुद्धमा पुष्पलालले आन्दोलन सुरुवात गरेकाले त्यसलाई निष्कर्षमा पु¥याउनुपर्ने दायित्व सबै कम्युनिष्ट विचारधारका नेता÷कार्यकर्ताको भएको उनले बताए ।

नेता नेपालले कम्युनिष्ट आन्दोलनलाई नै सिध्याउन पार्टीभित्रैबाट प्रयास भइरहेको भन्दै त्यसलाई सफल हुन नदिने बताए । पार्टीको नेतृत्व र जनताको बहुदलीय जनवाद सिध्याउन षड्यन्त्र भइरहेको भन्दै यसलाई गम्भीररुपमा लिएर पार्टी सुदृढीकरण गर्नुपर्नेमा उनले जोड दिए ।

नेकपा एमाले मकवानपुर अध्यक्ष एकलाल श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा एमालेका बागमती प्रदेशका संगठन विभाग प्रमुख अनन्त पौडेलले भने–पुष्पलाल, नेपालको कम्युनिष्ट आन्दोलनका संस्थापकमात्र हैन, पञ्चायती निरंकुशतालाई परास्त गर्ने बाम–लोकतान्त्रिक आन्दोलनको प्रणेता पनि हुन् । कम्युनिष्ट पार्टीको घोषणापत्रलाई नेपालीमा अनुवाद गर्ने, जहानियाँ राणाशासनको क्रुर दमनबीच कम्युनिष्ट पार्टीको स्थापना गर्नेजस्तो ऐतिहासिक कार्य पुष्पलालले गरे ।

“आजको दिनमा पुष्पलाललाई सम्झिरहँदा आफ्नो पार्टी भत्काएर वर्गबैरीको पोल्टामा बसेर अट्टहास गर्ने लालगद्धारप्रति घृणा र दया लागेर आउँछ । त्यस्ता त्यागी र तपस्वी नेताले स्थापना गरेको कम्युनिष्ट पार्टीलाई लुकेर अन्तर्घात हैन, हाकाहाकी गद्धारी गर्ने लाल गद्धारहरुलाई नेपाली जनताले उचित दण्ड दिनेछन्,” उनले भने ।

जिल्ला समन्वय समिति मकवानपुर प्रमुख रघुनाथ खुलालले एमाले पार्टीभित्र बसेर पार्टीविपरीत काम भइरहेको भन्दै आलोचना गरेका थिए । १५ असार, १९८१ मा रामेछापको भँगेरीमा जन्मिएका श्रेष्ठको ७ साउन, २०३५ मा भारतको गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । पुष्पलालले जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यसाथ १० बैशाख, २००६ मा नेकपा स्थापना गरेका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय