०८ पौष । काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारको मनोमानी कर प्रणालीले मुलुकको उधोग, व्यापार ध्वस्त हुदै गईरहेको टिप्पणी गरेका छन् । तीन तहको सरकारको मनोमानी कर एवं लुटतन्त्रले उधोगी, व्यापारी, सर्वसधारण लगायत समस्यामा पर्दै गईरहेको उनले बताए । काठमाडौंको कोटेश्वर स्थित आजपाको केन्द्रीय कार्यालयमा आज आम विद्यार्थी मोर्चाको काठमाडौं उपत्यका बिशेष कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले सरकारको मनोमानी करको बिरुद्धमा सडक संघर्षको बिकल्प नभएको बताए ।
‘सरकार लुटतन्त्रमा व्यस्त छ । जहाँबाट हुन्छ लुटने धन्दामा लागेको छ । सरकारले उधोगी, व्यापारी, सर्वसधारणलाई लुटिरहेको छ । राज्यको ढुकुटी सिध्याइसकेको सरकार अहिले विदेशीसंग ऋण लिएर त्यसमा पनि लुटने काम गरिरहेको छ । नेपाली जनतालाई ऋणको भारी बोकाएर राज्यको ढुकुटी लुटिरहेको सरकारले मनोमानी कर लगाएको छ । हरेक क्षेत्रमा मनोमानी करले सबै क्षेत्र तहसनहस भएको छ । सर्वसधारणले जीवन जिउन कठिन भईरहको छ । तर सरकारले करमाथि कर लगाएर नेपाली जनताको ढाड सेक्ने काम गरिरहेको छ,’ आजपा अध्यक्ष साहले भने ।
सरकारको मनोमानी कर आंकत, लुटकारी दलतन्त्रको बिकल्प नेपाली जनताले खोजिरहेको बताउदै उनले बैदेशिक रोजगारीमा भईरहेको ठगी धन्दाको बिरुद्धमा अब सडक आन्दोलनको बिकल्प नभएको उनले बताए ।सरकारको मनोमानी कर आतंक, लुटकारी दलतन्त्र लगायतको विरोधमा यही १४ पुसमा हुने काठमाडौंमा विशेष प्रदर्शनमा सहभागि हुन आजपा अध्यक्ष साहले आह्वान समेत गरेका छन् । आजपाको दोस्रो स्थापना दिवसको अवसरमा काठमाडौंको कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा सोही दिन बिशेष कार्यक्रमका साथै काठमाडौंमा विरोध प्रदर्शन समेत हुने आजपा स्थायी कमिटीका सदस्य रविन्द्र सिंहले जनाएका छन् ।
बिधार्थी मोर्चाका महासचिव प्रदिप साहको अध्यक्षतामा बसेको उक्त बैठकले सरकारको मनोमानी करविरुद्ध हुने विरोध प्रदर्शनमा व्यापक सहभागिता सहित सफल पार्ने प्रतिबद्धता गरिएको छ ।यसैबीच आज ललितपुरको कुपणडोलमा आम महिला मोर्चाको टोल कमिटी गठन भएकोछ । पार्टीको केन्द्रीय सचिव एवं उपत्यका बिशेष कमिटीका अध्यक्ष देवी पण्डितको प्रमुख आतिथ्य तथा आम महिला मोर्चाका महासचिव सिमा जयसवाल र उपत्यका अध्यक्ष ममता साहको बिशेष उपस्थितिमा आयोजित उक्त भेलाले सकुन्तला जयसवालको अध्यक्षतामा ३५ सदस्यीय टोल कमिटी गठन गरेकोछ ।
यस्तै, सरकारको कर आतंक विरुद्ध ललितपुरको सानेपामा आम महिला मोर्चाको टोल कमिटी गठन भएकोछ । महिला मोर्चाको उपत्यका संयोजक ममता साहको बिशेष उपस्थितिमा आयोजित उक्त भेलाले अर्चना ठाकुरको अध्यक्षतामा ४५ सदस्यीय महिला मोर्चाको कमिटी गठन भएको हो । नवगठित कमिटीले पुस १४ गते काठमाडौंमा हुने बिशेष प्रदर्शनमा भव्यरुपमा सफल बनाउँने निर्णय समेत गरेको छ ।