सर्लाही, १० पुस । नेपाल प्रिमियर लिग (एनपीएल) फाइनल म्याचमा जनकपुर बोल्टसको जितलाई खुशीयाली मनाइरहेकाहरु माथि अराजक भई नश्लीय विभेदको शिकार बनेका अमनकुमार सिंहलाई बलरा नगरपालिकाले ५० हजार आर्थिक सहयोग गरेका छन् ।
बलरा नगरपालिका वडा नम्वर १० सुदामा निवासी अनिलकुमार सिंहको छोरा जुन अहिले काठमाडौ स्थित दरवार हाइ स्कुलमा कक्षा १२ मा अध्ययनरत अमनकुमार सिंह माथि गएका शनिवार भएका साँघातिक आक्रमणमा परेर गम्भीर घाईते हुँदा बला नगरपालिकाको गम्भीर ध्यानाकर्षण भई छात्र सिंहलाई नगरपालिकाबाट आर्थिक सहयोग गर्ने घोषणा गरिएका हुन् ।
बलरा नगरपालिकाको नगरप्रमुख रामाशंकर प्रसाद कुशवाहाले एनपीएलमा नेपालकै ८ वटा टिम रहेको भएपनि जनकपुर बोल्टसको जितलाई सहज रुपमा पचाउन नसकेका केही विभेदकारी तत्वहरु अझै पनि एक समुदायलाई होच्याउने र अपमान गरी आक्रमण गर्ने कार्य एकदमै निन्दनिय भएको ठहर गर्दै गम्भीर घाइते सिंहको शिघ्र स्वास्थ्य लाभको कामना गरे । उदाउँदो खेलाडी अमन माथि भएको सांघातिक हमलाले खेल, खेलाडी र खेलप्रेमीहरूलार्ई हतोत्साहित बनाएको छ ।
बलरा नगरपालिका यस घृणित घटनामा संलग्न दोषीलार्ई पहिचान गरेर कडा भन्दा कडा कारवाही गर्न गृह प्रशासन देखि लिएर नेपाल सरकार संग जोडदार माग गरे । छात्र सिंहको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनको मनोबल उच्च राख्न र उपचारमा सहयोग पुर्याउन बलरा नगरपालिकाबाट ५० हजार रूपैयाँ सम्मको सहयोग दिने प्रतिबद्धता नगरप्रमुख कुशवाहाले व्यक्त गरे । साथै नगरप्रमुख कुशवाहाले अब आउदो समयमा यस्ता घटना दोहोरिन नदिन नेपाल सरकार सजग हुनुपर्ने समेत सुझाव दिए ।