अखिलेश यादव।२७ चैत्र।सिमरा : जीतपुरसिमरा उपमहानगरपालिकाले कक्षा ८ अन्तर्गत लिइएको अधारभूत तह परीक्षा २०८१ को नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक नतिजा अनुसार कुल परीक्षार्थीमध्ये ४३.६० प्रतिशत विद्यार्थी नोन्ग्रेड भएका छन्। जीतपुरसिमरा उपमहानगरपालिकाको शिक्षा शाखाका अनुसार यस वर्षको आधारभूत तह परीक्षामा २,२५१ जना विद्यार्थी सहभागी हुनेमध्ये २,२२५ जनाले परीक्षा दिएका थिए। ती मध्ये जम्मा १,२५५ जना विद्यार्थीले मात्र ग्रेड जिपिए हासिल गर्न सफल भएका छन् भने ९७० जना विद्यार्थी नोन्ग्रेड भएका छन्।
उपमहानगरपालिकाले सार्वजनिक गरेको विवरण अनुसार उत्कृष्ट ग्रेड (३.६१ देखि ४.००) ल्याउने विद्यार्थी संख्या ११४ जना मात्र रहेको छ। त्यस्तै ३.२१ देखि ३.६० जीपीए ल्याउने विद्यार्थी ३७३ जना, २.८१ देखि ३.२० जीपीए ल्याउने विद्यार्थी ४७३ जना, २.४१ देखि २.८० ल्याउने २३६ जना र २.०१ देखि २.४० ल्याउने विद्यार्थी ५९ जना रहेका छन्। तर २.० भन्दा कम जीपीए ल्याउने विद्यार्थी कोही पनि नरहेको शिक्षा शाखाले जनाएको छ।
आधारभूत तह परीक्षाको यस नतिजाले शिक्षा क्षेत्र अझै चुनौतीपूर्ण रहेको संकेत गरेको नगरप्रमुख राजन पौडेलले बताए। उनले शिक्षा क्षेत्रमा सुधार गर्न र विद्यार्थीहरुको शैक्षिक स्तर अभिवृद्धि गर्न उपमहानगरपालिका प्रतिबद्ध रहेको बताएका छन्।उनले आगामी दिनमा शिक्षक तालिम, पठनपाठनको अनुगमन, शैक्षिक सामग्री उपलब्धता र विद्यार्थी केन्द्रित कार्यक्रमहरु मार्फत आधारभूत तह परीक्षामा देखिएको कमजोरी सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे। परीक्षामा अनुपस्थित विद्यार्थी संख्या २६ जना रहेको उपमहानगरपालिकाले जनाएको छ।