नेता सडकमा, समस्या पुरानै, जीतपुरको बजार कहिले व्यवस्थित हुन्छ?

पछिल्लाे समाचार

अखिलेश कुमार यादव ।१७ बैशाख।सिमरा : बारा जिल्लाको ठुलो बजार र औद्योगिक नगरीको रुपमा चिनिने जीतपुर बजार अझैसम्म पनि अव्यवस्थित छ। जीतपुरसिमरा उपमहानगरपालिकाको स्थापना भएको आठ वर्ष बितिसक्दा समेत बजार व्यवस्थापनमा कुनै ठोस र दिगो पहल हुन सकेको छैन। बारम्बार सडक अतिक्रमण र फूटपाथमा हुने व्यापार हटाउने प्रयास भए पनि ती प्रयासहरू स्थानीय जनप्रतिनिधिकै संरक्षणमा फेरि पनि अराजक रूपमा दोहोरिएको जनगुनासो छ।

जीतपुर बजार बारा मात्र नभई रौतहट, पर्सा, मकवानपुर, नारायणघाटजस्ता छिमेकी जिल्लाबाट समेत ग्राहक आकर्षण गर्ने केन्द्र हो। ग्राहकको भीडसँगै यहाँ व्यापार गर्नेको संख्या दिनानुदिन बढिरहेको छ। तर, यो वृद्धिलाई सम्हाल्ने कुनै पूर्वाधार वा व्यवस्थापनको अभावले गर्दा बजार थप अस्तव्यस्त बन्न पुगेको छ।जीतपुरसिमराको पहिचान दिलाएको ठाउँ अझै ब्यवस्थित नहुनुको पछाडी कारण के हो भने अझै खुल्न नसकेको छैन।

विशेष गरी ६ लेन सडक अतिक्रमण गरेर गरिँदै आएको सडक व्यापार पटक–पटक हटाइए पनि, स्थानीय नेताहरुको संरक्षणमा फेरि त्यही अवस्था फर्किने गरेको छ। वडानं. ७ कार्यालयले पटकपटक सुचना जारी गरेर सडक अतिक्रमण हटाउने प्रयास गरे पनि ती प्रयासहरू लामो समय टिक्न सकेका छैनन्।बजारमा ट्राफिक व्यवस्थापन पनि पूर्ण रूपमा असफल भएको देखिन्छ। पार्किङको ठोस व्यवस्था नहुँदा गाडी तथा मोटरसाइकलको चाप असहज बन्दै गएको छ। ग्राहकले पटक–पटक उचित पार्किङको माग गर्दा पनि उपमहानगर मौन बसिरहेको अवस्था छ।

आजदेखि वडा नं. ७ को आयोजनामा फूटपाथ तथा पार्किङ व्यवस्थापन गर्न ‘सप्ताहव्यापी कार्यक्रम’ सुरु गरिएको छ। नगरप्रमुख राजन पौडेल र वडाध्यक्ष सुनिल गुप्ता स्वयं सडकमा उत्रिएर बैनरसहित जनचेतना अभियानमा सहभागी भए पनि स्थानीयले यसलाई फेरि पनि “स्टन्टबाजी” भनेर व्याख्या गर्न थालेका छन्।स्थानीय नागरिकको गुनासो छ “कार्यक्रम त हुन्छ, फोटो खिचिन्छ, समाचार बन्छ, तर अवस्था उस्तै छ। आखिर जीतपुर कहिले व्यवस्थित हुन्छ?”त्यसैले प्रश्न उठ्दैछ , के बारम्बार हुने फूटपाथ तथा पार्किङ व्यवस्थापन अभियान मात्र प्रचारको स्टन्टबाजी हुन्? कि साँच्चै जीतपुर बजारलाई व्यवस्थित बनाउने गम्भीर प्रयास हो भने प्रश्न उठेको छ।जीतपुर बजारलाई पटक पटक ब्यवस्थित गर्न खोजिए पनि अहिले सम्म किन ब्यवस्थित हुन सकेको छैन भनेर आमनागरिकको चासोको बिषय बनेको छ।

सडक अतिक्रमण गरेर ब्यवसाय गर्नेको कारण दुर्घटनाको जोखिम पनि उतिकै बढने गरेको छ भने यसपाली गरिएको प्रयाश सफल होस भने धेरै स्थानियले यो कार्यको प्रसंशा गरेको छ भने धेरैले पहिला जस्तै स्टन्टबाजीकै रुपमा लिएको छ।

a

spot_imgspot_img
spot_img

लोकप्रिय