३० जेठ ।सिमरा : जीतपुरसिमरा उपमहानगरपालिकाले अपनाएको आधिकारिक लोगो नगरको पहिचान, इतिहास, भूगोल, संस्कृति र विकास यात्रालाई समेट्दै तयार पारिएको छ। अंग्रेजी अक्षर ‘J’ र ‘S’ को कलात्मक संयोजनबाट बनेको लोगोले उपमहानगरको नाम प्रतिनिधित्व गर्नुका साथै यहाँको सामाजिक–सांस्कृतिक एकतालाई समेत झल्काउँछ।
लोगोको संरचनामा माथिल्लो भागमा रहेको पहाडदेखि तल्लो भागसम्मको चित्रणले चुरे क्षेत्रदेखि समथर भू–भागसम्म फैलिएको उपमहानगरको भौगोलिक स्वरूपलाई स्पष्ट पारेको छ।‘J’ को माथिल्लो भागमा देखिएको खैरो हात्तीले उपमहानगरभित्र रहेको पर्सा राष्ट्रिय निकुञ्जलाई जनाउँछ, जुन हात्ती संरक्षणका लागि प्रसिद्ध मानिन्छ। यसले नगरको पर्यटन सम्भावनालाई उजागर गर्दैछ।
यस्तै, पहाड मुनिको चिम्नी र कारखानाले पथलैया–वीरगञ्ज औद्योगिक करिडोर तथा विशेष आर्थिक क्षेत्र (SEZ) सँग उपमहानगरको औद्योगिक सम्बन्ध दर्शाउँछ। नेपाल सरकारले प्रत्येक प्रदेशमा एक–एक औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णयअनुसार सिमरामा स्थापना गरिएको SEZ लोगोमा स्पष्ट रुपमा चित्रित गरिएको छ। ‘S’ को माथिल्लो भागमा रहेको दुई पखेटाले सिमरा विमानस्थलको प्रतिनिधित्व गर्छन्। सिमरा नै नेपालमा पहिलोपटक ‘पुश मथ’ नामक विमान अवतरण भएको स्थान हो, जसले यहाँको गौरवपूर्ण हवाई इतिहासलाई स्मरण गराउँछ।
त्यसैगरी, S को बीच भागमा भर्याङजस्तो देखिने आकृतिले नेपालकै पहिलो अमलेखगञ्ज–रक्सौल रेलसेवाको ऐतिहासिक महत्वलाई संकेत गर्छ। पुछारतर्फ रहेको सडक आकृतिले त्रिभुवन राजपथ, महेन्द्र राजमार्ग र हालको ६ लेन सडकखण्डको संकेत गरेको छ, जसले यहाँको पूर्वाधार विकासको अवस्था दर्शाउँछ।लोगोको विशेष आकृति ‘J’ को बीच भागमा रहेको हातजस्तो आकृति ‘कर्मकुमारी धारा’ लाई जनाउँछ। राणा प्रधानमन्त्री देव शमशेरले दलित समुदायकी धर्मपत्नी कर्मकुमारीको सम्झनामा बनाएको यो धारा जातीय भेदभाव अन्त्य गर्ने ऐतिहासिक प्रयासको प्रतीक हो। यही सन्देशलाई लोगोमा समेटिएको छ।
यसैगरी, ‘J’ को पुछारतर्फ रहेको पहेँलो धानको बालाले कृषि प्रधान नगरको पहिचान र प्रविधिमैत्री कृषि प्रणालीप्रति नगरको प्रतिबद्धता दर्शाउँछ। लोगोमा प्रयोग गरिएका रातो र निलो रङले नेपालकै राष्ट्रिय झण्डाको रङलाई प्रतिनिधित्व गरेका छन्। रातो रङले वीरता, शक्ति र निडरताको संकेत गर्दछ भने नीलो रङले शान्ति, विज्ञान, जैव प्रविधि, अनुसन्धान तथा स्वास्थ्य क्षेत्रप्रतिको सम्बद्धतालाई संकेत गर्दछ।
लोगोको सम्पूर्ण संरचना बहुआयामिक विकास, लचकता र समृद्धिको संकेत गर्ने गरी डिजाइन गरिएको छ। ‘J’ को ठाडो बनावटले विविधता समेट्ने दृष्टिकोण झल्काउँछ भने ‘S’ को घुमाउरो आकृतिले लचकता, प्रवाह र आधुनिकताप्रतिको अग्रसरतालाई दर्शाउँछ। यसरी, जीतपुरसिमरा उपमहानगरपालिकाको लोगोले नगरको ऐतिहासिक, भौगोलिक, सांस्कृतिक र आर्थिक समृद्धिको पूर्ण चित्रण गर्दै एक समावेशी र प्रगतिशील उपमहानगरको परिकल्पनालाई मूर्तरूप दिएको छ।