विद्यालयको भविष्यमा स्थानीयको ‘अतिक्रमण , पर्खाल निर्माण रोकिँदा २५ लाख बजेट फ्रीजको संकट

पछिल्लाे समाचार

३० जेठ ।कलैया : बारा जिल्लाको सिम्रौनगढ नगरपालिका–११ भगवानपुरस्थित श्री शंकर नेपाल राष्ट्रिय आधारभूत विद्यालय अहिले गम्भीर संकटको घेरामा परेको छ। विद्यालयको सुरक्षा तथा संरचनागत सुधारको लागि मधेश प्रदेश सरकारले विनियोजन गरेको २५ लाख रुपैयाँको बजेट स्थानीय अवरोधका कारण फ्रीज हुने जोखिममा परेको छ।विद्यालय वरिपरिका केही स्थानीयहरुले बर्षौदेखि अतिक्रमण गर्दै आएको विद्यालयको जग्गामा पर्खाल निर्माण रोक्दै आएका छन्। विद्यालय सुधारको नाममा आएको बजेट प्रयोग हुनेभन्दा अगावै स्थानीयको असहयोग र जनप्रतिनिधिको निष्क्रियता देखिँदा शिक्षाको मन्दिरमा नै ताल्चा लाग्ने खतरा देखिएको छ।


स्थानीय अगुवा मनोज पटेलका अनुसार, “विद्यालयको चारैतिर पर्खाल नहुँदा सुरक्षाको अभाव छ। घरदैलोमै रहेको विद्यालय जोगाउने प्रयासमा प्रदेश सरकारबाट आएको बजेट स्थानीयको अवरोधले फिर्ता जान सक्छ।“विद्यालयको जग्गा अतिक्रमण गर्दै काठ दाउरा सुकाउने, गोबरको गुइँठो बनाउने कार्य खुलेआम भइरहेको पाइएको छ। यस विषयमा वडाध्यक्षले पटक–पटक सार्वजनिक सूचना जारी गरे पनि स्थानीयले अटेरी गर्दै आइरहेका छन्। विद्यालयमा हालै ठेक्का लागेको निर्माण कम्पनीले गिट्टी–बालुवा झारेर काम सुरु गर्न खोजे पनि जनप्रतिनिधिबीच आवश्यक समन्वयको अभावमा निर्माण कार्य ठप्प भएको हो। अर्का स्थानीय जगु पटेल भन्छन्, “यो पर्खाल बनेको भए विद्यालयको मुहार फेरिन्थ्यो। तर अब त रकम नै फिर्ता जाने अवस्था छ।“विद्यालयको भवन जीर्ण, शौचालयको अवस्था नाजुक र खुल्ला वातावरणमा पठनपाठन हुँदै आएको हुँदा, अभिभावकहरूले आफ्ना छोराछोरीलाई छिमेकी गाउँको विद्यालयमा पढाउन बाध्य भएका छन्।

यसबाट विद्यार्थीको मनोबल घट्नुका साथै स्थानीय स्तरमै गुणस्तरीय शिक्षाबाट बञ्चित हुने अवस्था बनिरहेको छ।पर्खाल निर्माणको बजेट प्रदेश सभा सदस्य राजपती जैशावाल मार्फत विनियोजन गरिएको थियो। तर अब त्यसै बजेटको सदुपयोग नभएर फिर्ता जाने सम्भावना उच्च रहेकोछ।स्थानीय प्रशासन, राजनीतिक नेतृत्व र नागरिकस्तरमा समन्वयको घोर अभावले आज विद्यालयको विकास रोकिएको मात्र होइन, भविष्य नै संकटमा परेको छ।यदि चाँडै समस्या समाधान नगरिए, विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने यस्तो प्रवृत्ति अझै मौलाउने खतरा रहेको छ ।

a

spot_imgspot_img
spot_img

लोकप्रिय