११ असार,कलैया : आर्थिक वर्ष २०८२/०८३ का लागि बाराका १६ स्थानीय तहमध्ये १३ पालिकाले गाउँसभा वा नगरसभा सम्पन्न गर्दै आफ्नो नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् भने तीन पालिकाले अझै आन्तरिक तयारी गरिरहेका छन्।जिल्लाका दुई उपमहानगर, पाँच नगरपालिका र नौ गाउँपालिकामध्ये कलैया उपमहानगर, महागढीमाई, पचरौता, सिम्रौनगढ, कोल्हबी नगरपालिका र आठ गाउँपालिकाले बजेट पास गरिसकेका छन्। सबै पालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, रोजगारी सिर्जना र सामाजिक सुरक्षामा प्राथमिकता दिएका छन्।
कलैया उपमहानगरपालिकाले १ अर्ब ७२ करोड ७३ लाखको बजेटसहित जिल्लामै सबैभन्दा ठूलो बजेट सार्वजनिक गरेको छ। नगरप्रमुख विनोद साहले “शैक्षिक, प्रशासनिक, पर्यटन र पूर्वाधारमा आधारित समृद्ध नगर” बनाउने लक्ष्यसहित नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्।त्यस्तै, महागढीमाई नगरपालिकाले ८१ करोड ५८ लाख, कोल्हबीले ७९ करोड २३ लाख, सिम्रौनगढले ६७ करोड ७१ लाख, पचरौताले ६५ करोड ३१ लाखको बजेट सार्वजनिक गरेका छन्।गाउँपालिकातर्फ परवानीपुर, प्रसौनी, देवताल, आदर्श कोतवाल, फेटा, बिश्रामपुर, करैयामाई र बारागढीले आ–आफ्नो बजेट सार्वजनिक गर्दै समावेशी विकास, डिजिटल शिक्षा, गुणस्तरीय स्वास्थ्य र पारदर्शी शासनमा ध्यान केन्द्रित गरेका छन्।
यसबाहेक जीतपुरसिमरा उपमहानगरपालिका, निजगढ नगरपालिका र सुवर्ण गाउँपालिकाले बजेट सार्वजनिक गरिनसकेको हो। जीतपुरसिमराले असार ९ मा सभा बोलाए पनि प्रस्ताव पेश नभएपछि असार १८ मा दोस्रो बैठक डाकिएको छ। निजगढको सभा स्थगित गरिएको छ भने सुवर्ण गाउँपालिकाको सभा असार १६ गते बस्ने तय छ।कानुनअनुसार पालिकाले असार मसान्तभित्र बजेट पारित गर्न नसके साउन १ गतेदेखि ‘बजेट होलिडे’ को अवस्था सृजना हुनेछ। त्यसपछि संघीय सरकारले खाता संचालनमा रोक लगाउने र समपुरक अनुदानको निश्चित हिस्सा कटौती गर्ने व्यवस्था छ।