असोज ३० कलैया : हैजाको जोखिम बढ्दै गएपछि बारा जिल्लामा सञ्चालन भइरहेको खोप अभियानले तीव्र गति लिएको छ। सोमबारदेखि सुरु भएको यो खोप अभियान अन्तर्गत तीन दिनमा १ लाख ४६ हजार ३ सय ६२ जनाले खोप लगाइसकेका छन्। स्वास्थ्य कार्यालय बाराका अनुसार, बुधवार ६६ हजार ५ सय ६९ जनाले हैजा विरुद्धको खोप लगाएका छन्। तीमध्ये सबैभन्दा धेरै कलैया उपमहानगरपालिकामा २६ हजार ९ सय ४७ जना र जीतपुरसिमरा उपमहानगरपालिकामा २० हजार ९ सय ५९ जनाले खोप लिएका छन्। त्यस्तै प्रसौनी गाउँपालिकामा ४ हजार ८ सय ४०, परवानीपुरमा ४ हजार १ सय ९७, फेटा गाउँपालिकामा ५ हजार ९ सय ४३ र विश्रामपुरमा ३ हजार ६ सय ४३ जनाले खोप लगाएका हुन्।
बारा जिल्लाका ६ पालिकाका ७५ वडामा हैजा विरुद्धको यो खोप अभियान एकसाथ सञ्चालन भइरहेको छ। कुल ३ लाख ६५ हजार ९ सय ३१ जनालाई खोप दिने लक्ष्यसहित अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालय बाराले जानकारी दिएको छ। स्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यादवका अनुसार खोप अभियान अपेक्षाभन्दा पनि प्रभावकारी ढंगले अघि बढिरहेको छ। महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय तहका जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरूको सक्रिय सहकार्यले अभियानलाई सशक्त बनाएको उनले बताए। स्वास्थ्य कार्यालयले हैजा विरुद्धको खोप सुरक्षित, प्रभावकारी र अत्यावश्यक भएको स्मरण गराउँदै सबै नागरिकलाई समयमै खोप लगाउन आह्वान गरेको छ।
खोप कार्यक्रम अन्तर्गत १ वर्षमाथिका सबै उमेर समूहलाई लक्षित गरिएको छ। घर घरमा स्वास्थ्यकर्मी र स्वयंसेविका परिचालित गरिएकाले नागरिकलाई नजिकैको खोप केन्द्र वा टोलीबाट सहज रूपमा सेवा लिन सकिने व्यवस्था गरिएको छ। हैजा पानीजन्य सरुवा रोग भएकाले जनस्वास्थ्यका दृष्टिले निकै संवेदनशील मानिन्छ। विगत वर्षहरूमा बाढीपछिको अवस्थाले बाराजस्ता तराई क्षेत्रमा हैजाको जोखिम बढाउने गरेको पृष्ठभूमिमा यो खोप अभियान निकै महत्त्वपूर्ण मानिएको छ।

