माघ १९ सिमरा : बारा निर्वाचन क्षेत्र नम्बर ४ मा निर्वाचनको मिति नजिकिँदै जाँदा चुनावी माहोल थप तातेको छ। मुख्य राजनीतिक दलहरूबीच कडा प्रतिस्पर्धा हुने संकेत देखिँदा मतदाताको चासो पनि बढ्दै गएको छ। स्थानीय तहमा गरिएको जनमत सर्वेक्षण र मतदाताको चाहनाअनुसार नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका युवा नेता श्यामबाबु गुप्ता हाल अग्रस्थानमा देखिएका छन्। बारा–४ कै स्थायी बासिन्दा गुप्ता लामो समयदेखि जनताको दुःख–सुखमा प्रत्यक्ष रूपमा सहभागी हुँदै आएका कारण उनीप्रति जनआकर्षण बढ्दै गएको स्थानीयको भनाइ छ।

बारा–४ अन्तर्गत जीतपुरसिमरा उपमहानगरपालिका, प्रसौनी, परवानीपुर, फेटा, विश्रामपुर गाउँपालिका तथा कलैया उपमहानगरपालिकाको वडा नम्बर १७ पर्दछन्। गुप्ता सिमरा क्षेत्रकै स्थानीय भएकाले स्थानीय समस्या, आवश्यकता र सम्भावनाबारे राम्रो बुझाइ रहेको मतदाताहरू बताउँछन्। स्थानीय मतदाताका अनुसार नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बारा जिल्लाबाहिरका भएकाले यसपटक स्थानीय उम्मेदवारलाई नै प्राथमिकता दिने मनस्थितिमा जनता देखिएका छन्। “आफ्नै ठाउँको मान्छेले मात्र यहाँको पीडा बुझ्छ,” भन्ने आवाज घरदैलो कार्यक्रममा खुल्ला रूपमा सुनिन थालेको छ।

फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा उपनिर्वाचनका लागि सबै उम्मेदवार घरदैलो अभियानमा व्यस्त छन्। कांग्रेस उम्मेदवार श्यामबाबु गुप्ता पनि बिहानदेखि साँझसम्म मतदाताको घरघरमा पुगेर प्रत्यक्ष संवाद गरिरहेका छन्। यसपटकको निर्वाचन अघिल्लो निर्वाचनमा १० हजारभन्दा बढी मतान्तरले विजयी भएका पूर्वमन्त्री किसान श्रेष्ठका लागि पनि चुनौतीपूर्ण देखिएको छ। २०७९ सालमा गठबन्धनको बलमा निर्वाचित भएका श्रेष्ठ यसपटक भने अन्य दलसँग एक्लाएक्लै प्रतिस्पर्धा गरिरहेका छन्। नौ वर्षपछि कांग्रेसका कार्यकर्ताले आफ्नै उम्मेदवारलाई रूख चिन्हमा मतदान गर्न पाउँदा पार्टीभित्र अलग उत्साह देखिएको छ।

बारा–४ मा कांग्रेसका श्यामबाबु गुप्ता, नेकपा एमालेका किसान श्रेष्ठ, नेकपाका अजय कुशवाह, रास्वपाका रहबर अन्सारी र लोसपा–जसपा गठबन्धनका सञ्जु साह चुनावी मैदानमा छन्।
नेपाली कांग्रेसका उम्मेदवार श्यामबाबु गुप्ता यस क्षेत्रका लागि नयाँ अनुहार भए पनि स्पष्ट एजेन्डा र स्थानीय पकडका कारण बलियो दावेदारका रूपमा उदाइरहेका छन्। उनले युवालाई रोजगारी, साना तथा मझौला उद्योग प्रवर्द्धन, कृषि उत्पादनको बजारीकरण, सिमरा–जीतपुरसिमरा औद्योगिक क्षेत्रको विस्तार, शिक्षा र स्वास्थ्य सेवामा सुधार तथा भ्रष्टाचारविरुद्ध कडा अभियानलाई आफ्नो मुख्य प्राथमिकता बनाएका छन्।

“राजनीति पदका लागि होइन, जिम्मेवारीका लागि हो। बारा–४ लाई विकास र रोजगारीको केन्द्र बनाउने मेरो संकल्प छ,” गुप्ताले घरदैलो क्रममा मतदातासँग भनेका छन्। स्थानीय विकास, युवा नेतृत्व र स्थानीय उम्मेदवारको मुद्दाले बल पाउँदै जाँदा बारा–४ मा श्यामबाबु गुप्ता, किसान श्रेष्ठ र रहबर अन्सारीबीच त्रिपक्षीय कडा प्रतिस्पर्धा हुने संकेत देखिएको छ।

