माघ २० कलैया : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बारा निर्वाचन क्षेत्र नम्बर ३ मा चुनावी गतिविधि तीव्र बन्दै गएको छ। यसैक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका इन्जिनियर अरविन्द साहले घरदैलो अभियानलाई निरन्तरता दिएका छन्। साहले सोमबार कलैया उपमहानगरपालिका वडा नम्बर ८ बरेवा र वडा नम्बर २५ सिसहनिया क्षेत्रमा घरदैलो कार्यक्रम सञ्चालन गर्दै मतदातासँग प्रत्यक्ष भेटघाट गरेका हुन्। स्थानीय बासिन्दासँगको संवादका क्रममा उनले कलैयाको समग्र विकास आफूले प्राथमिकतामा राखेको स्पष्ट पारे।
घरदैलो अभियानमा साहले आफ्नो राजनीतिक एजेन्डा, विकास दृष्टिकोण र आगामी योजनाबारे जानकारी गराउँदै कलैयालाई व्यवस्थित, सुन्दर र आधुनिक सहरका रूपमा अघि बढाउने प्रतिबद्धता जनाए। निर्वाचित भएमा कलैयालाई स्मार्ट सिटीको अवधारणामा विकास गर्न आवश्यक पहल सुरु गर्ने उनको भनाइ थियो। उनले सडक विस्तार, सुरक्षित खानेपानी, ढल व्यवस्थापन, गुणस्तरीय स्वास्थ्य सेवा, शिक्षा तथा अन्य आधारभूत पूर्वाधार सुधारका लागि सरकारसँग निरन्तर दबाब सिर्जना गर्ने र आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। स्थानीय समस्या संसदमा बलियो रूपमा उठाउने उनको आश्वासनले मतदातामा चासो बढाएको देखिन्थ्यो।
घरदैलो कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता डाक्टर सुशील साह, पार्टीका कार्यकर्ता, स्वयंसेवक तथा युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले अरविन्द साहको उम्मेदवारीले क्षेत्रको विकासमा नयाँ आशा जगाएको प्रतिक्रिया दिएका छन।

