कलैया, २० माघ । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन फेक र रियलबीचको लडाई भएकाले जनताले फेकुहरुलाई हराउनैपर्ने बताएका छन् । बाराको बारागढी गाउँपालिकाको खोपवा बजारमा आज निर्वाचन परिचलान कमिटीको विशेष प्रशिक्षक कार्यक्रमलाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले फेक र झुठा कुरा गर्ने नेतालाई जनताले आम निर्वाचनमा बहिष्कार गर्नुपर्ने बताए ।
‘अहिलेको चुनाव फेक र रियलको लडाईं हो, जनताले फेकुहरुलाई हराउनैपर्छ । अहिले फेक नेता र तीनका फेक एजेण्डाको चर्चा गरिँदैछ, यो देशको लागि सर्वाधिक घातक कुरा हो । सोसल मिडियामा स्टन्ट गर्ने, फेक आईडीबाट झुठो प्रचार गर्नेहरुको दबदबा छ, यसलाई चिर्नुपर्छ,’ आजपा अध्यक्ष साहले भने । फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन सत्य र असत्यको लडाई भएकाले आम मतदाताले रियललाई मतदान गरेर बिजयी बनाउने र फेकुहरुलाई बहिष्कार गर्नुपर्ने उनले बताए ।
रास्वपा नेता समेत रहेका काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाहलाई लक्षित गर्दै साहले भने, ‘देशकै ठूलो र धनी महानगरको नेतृत्व गर्दापनि विकासको मोडेल दिन नसक्ने बालेनजीले अहिले प्रधानमन्त्री बन्ने सपना देखेर नक्कली कुरा गर्दैछन् । यस्ता नक्कलीहरुलाई आम जनताले निर्वाचनबाटै बहिष्कार गर्नुपर्छ ।’ काठमाडौं महानगर मेयर हुँदा काठमाडौको मुहार फेर्न नसक्नेले देश बदल्छौं भनेर धाक नलगाउन चेतावनी दिदै आजपा अध्यक्ष साहले यिनीहरु नयाँ नभई टेस्टेड असफल फिगर भएको टिप्पणी गरे ।
काठमाडौं महानगरले जनतासंग करमाथि कर लिएको तर सेवा सुविधा दिने काम नगरेको बालेनको विगत सम्झिदै आजपा अध्यक्ष साहले भने, ‘काठमाडौं महानगरले जनतासँग लिने काम गर्यो, करमाथि कर थुपार्ने काम गर्यो, बदलामा केही पनि सुविधा दिएन । संघीय राजधानी भएको महानगरमा शिक्षा, स्वास्थ्य र रोजगारीको अवस्था बेहाल र दयनीय अवस्थामा छ । गरिव उपचार नपाएर मर्ने अवस्था छ, त्यो विभेद हटाउन सकेन ।’
उनले बालेनलाई रौतहटको मौलापुर नगरपालिकामा भएको विकासको मोडेल हेर्न अनुरोध समेत गरे । ‘बालेनलाई म मौलापूरको विकासको मोडेल हेर्न अनुरोध गर्दछु । मौलापुरले लिँदैन, खाली दिने काम गर्छ । यहाँ शिक्षा, स्वास्थ्य, पानी, विजुली सबै फ्रि छ । यहाँ नगरप्रहरी होईन, नगर शिक्षक, नगर डाक्टर राखिएको छ । मौलापुरमा दलित, सुकुम्बासीलाई पक्कीघर बनाएर दिएकोछ । तर काठमाडौंमा भगाउने काम भएको छ,’ आजपा अध्यक्ष साहले भने ।
यसैगरी, एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावमा पराजित हुने मानसिकताका कारण चुनावको मुखमा संसद् पुनःस्थापनााको भ्रम फैलाइरहेको आरोप उनले लगाए । चुनावको विकल्प नभएको बताउदै उनले चुनावबाट कोही भाग्न नहुने बताए । चुनावको मुखैमा आईपुग्दा पनि संसद् पूनःस्थापनाको भ्रम फैलाईनु पराजित मानसिकता हो, निर्वाचनमा श्रेष्ठता देखाउन चूनौति दिन्छु । एमालेको पराजित मानसिकताको कारण चुनावको मुखमा यस्तो हल्ला फैलाईएको छ,’ साहले भने । कार्यक्रममा बारा क्षेत्र नं. १ का उम्मेदवार बिजय यादवलगायतको विशेष सहभागिता रहेको थियो ।

