माघ १६ सिमरा : बारा क्षेत्र नम्बर ३ मा पनि प्रतिनिधिसभा निर्वाचनको माहोल तीव्र बन्दै गएको छ। नेपाली कम्युनिस्ट पार्टीले चुनावी तयारी आक्रामक बनाएको छ भने सो पार्टीबाट बारा निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराएका भरत साह अहिले बारा–३ मा समेत सक्रिय रूपमा घरदैलो कार्यक्रममा जुटिरहनुभएको छ। विगत लामो समयदेखि एउटै व्यक्तिलाई पटक पटक सांसद र मन्त्री बनाउँदै आएको नेकपा एमालेको राजनीतिलाई चुनौती दिँदै भरत साह फरक र व्यवहारिक एजेन्डासहित चुनावी प्रतिस्पर्धामा होमिनुभएको हो।
क्षेत्र नम्बर ३ बाट निर्वाचित हुँदै आएका सांसद र मन्त्रीहरूले अपेक्षित विकास गर्न नसकेको आरोप लगाउँदै साहले शिक्षा, कृषि र रोजगारीलाई केन्द्रमा राखेर मतदातासँग संवाद सुरु गर्नुभएको छ। बुधवार प्रेस सेन्टर नेपालद्वारा आयोजित बारा जिल्लाका उम्मेदवारहरूसँगको अन्तरक्रिया कार्यक्रममा साहले अन्य उम्मेदवारभन्दा फरक एजेन्डा प्रस्तुत गर्नुभयो। कार्यक्रममा उहाँले आफू निर्वाचित भएपछी शिक्षक ऐन, निजामती ऐनलगायत लामो समयदेखि रोकिँदै आएका कानुनहरू पारित गराएर सेवा सुविधा बाट बञ्चित कर्मचारीहरूको हक सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
आफू स्वयं शिक्षक पेशाबाट राजनीतिमा आएको उल्लेख गर्दै साहले शिक्षकहरूले वर्षौंदेखि भोग्दै आएको समस्या नजिकबाट बुझेको र समाधान गर्न सक्ने उम्मेदवार आफू मात्र भएको दाबी गर्नुभयो। शिक्षकको पेशागत सुरक्षा, सेवा सुविधा, सरुवा–बढुवा प्रणाली पारदर्शी बनाउने र शिक्षा क्षेत्रमा राजनीतिक हस्तक्षेप अन्त्य गर्ने उहाँको प्रमुख चुनावी एजेन्डा रहेको छ। शिक्षासँगै कृषि क्षेत्रलाई पनि प्राथमिकतामा राख्दै साहले बारा जिल्लामा कृषि आधुनिकीकरणलाई तीव्र बनाउने बताउनुभयो। सिँचाइ सुविधा विस्तार, मल र बीउको सहज उपलब्धता, किसानका लागि अनुदान र उत्पादनको बजार सुनिश्चित गर्ने योजना अघि सार्दै किसानले भोग्दै आएको समस्या न्यूनीकरण नै आफ्नो चुनावी प्रतिबद्धता भएको उहाँले स्पष्ट पार्नुभयो।
त्यसैगरी विद्युतीकरण, सडक, खानेपानी र स्वास्थ्य पूर्वाधारमा बारा जिल्ला पछाडि परेको उल्लेख गर्दै साहले संघीय सरकारबाट आवश्यक बजेट ल्याएर समग्र विकास गर्ने प्रतिबद्धता जनाउनुभयो। ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना, युवा पलायन रोक्ने र सीपमूलक तालिममार्फत स्थानीय रोजगारी बढाउने योजना पनि उहाँको एजेन्डामा रहेको छ। “कागजी प्रतिबद्धता होइन, शिक्षा क्षेत्रलाई केन्द्रमा राखेर बारा जिल्लालाई शिक्षित जिल्ला बनाउने मेरो लक्ष्य हो,” साहले भन्नुभयो, “शिक्षा सुदृढ भए बेरोजगारी स्वतः घट्छ र समाज समृद्धितर्फ जान्छ।”
शिक्षा, कृषि, सुशासन र पूर्वाधारलाई आधार बनाएर आफू नै बारा क्षेत्रका लागि वास्तविक विकल्प भएको दाबी गर्दै उहाँले मतदातासँग अमूल्य मत दिएर विजयी बनाउन आग्रह गर्नुभएको छ।
यसैबीच बारा क्षेत्र नम्बर ३ मा जसपा बाट रामबाबु कुमार यादवले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् भने नेकपा एमालेको तर्फबाट ज्वाला साह उम्मेदवार बनेकी छन्। तर एमाले उम्मेदवार ज्वाला साहप्रति पार्टीभित्रै असन्तुष्टि देखिन थालेको छ। जिल्लाका प्रभावशाली नेताहरूले खुलेर साथ नदिएपछि यस पटक उनको उम्मेदवारी कमजोर बन्दै गएको आकलन गरिएको छ।
जिल्ला कमिटीले टिकट सिफारिस नगरे पनि ज्वाला साह नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकट भएकै कारण केन्द्रबाट सिधै टिकट लिएर उम्मेदवारी दर्ता गराएको चर्चा छ। जिल्लाले सिफारिस गरेको उम्मेदवारलाई पन्छाएर टिकट लिएको विषयले एमालेका केही नेता तथा कार्यकर्ता असन्तुष्ट बनेका छन्, जसको असर चुनावी प्रचार–प्रसारमा समेत देखिन थालेको छ।
एमालेभित्रको यो असन्तुष्टि र आन्तरिक विभाजनका कारण बारा क्षेत्र नम्बर ३ मा यस पटक नेपाली कम्युनिस्ट पार्टीका भरत साह र जसपाका रामबाबु कुमार यादवबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।
दुवै उम्मेदवार घरदैलो, जनसम्पर्क र फरक एजेन्डासहित मैदानमा उत्रिएपछि चुनावी माहोल थप चर्किएको छ।
स्थानीय मतदाताहरूले विकास, शिक्षा, कृषि र रोजगारीलाई मुख्य मुद्दा बनाउँदै आएका कारण पनि बारा क्षेत्र नम्बर ३ को प्रतिस्पर्धा रोचक बन्दै गएको छ। एमालेको कमजोर संगठनात्मक अवस्था र अन्य दुई उम्मेदवारको बढ्दो सक्रियताले यस क्षेत्रको चुनावी नतिजा अप्रत्याशित हुन सक्ने विश्लेषण गरिएको छ।

