माघ १६ सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १५ डुमरवानामा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको ६२ औँ वार्षिकोत्सव समारोह तथा ६३ औँ अभिभावक दिवस विविध कार्यक्रमका साथ सम्पन्न भएको छ। १४ गतेदेखि सुरु भएको वार्षिकोत्सव समारोह विद्यालय परिसरमा विभिन्न खेलकुद प्रतियोगिता, शैक्षिक तथा सांस्कृतिक कार्यक्रमसहित शुक्रबार समापन गरिएको विद्यालयले जनाएको छ।

समापन समारोहमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजन भट्टराई सभापति रहनुभएको थियो भने प्रमुख अतिथिका रूपमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १५ का वडाध्यक्ष रामप्रसाद लामिछाने सहभागी हुनुहुन्थ्यो। वार्षिकोत्सवको अवसरमा विद्यालयले दौड, भलिबल, कबड्डी लगायतका खेलकुद प्रतियोगिता आयोजना गरेको थियो। साथै विद्यार्थीहरूले नृत्य, गीत, नाटकजस्ता सांस्कृतिक प्रस्तुति देखाएर समारोहलाई आकर्षक बनाएका थिए। विद्यालयका प्रधानाध्यापक प्रबीन कुमार काफ्लेले खेलकुद तथा सांस्कृतिक गतिविधिले विद्यार्थीको सर्वाङ्गीण विकासमा टेवा पुग्ने बताउनुभयो।

समारोह तथा अभिभावक दिवसको अवसरमा शैक्षिक, खेलकुद र अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो। यसले विद्यार्थीहरूमा प्रतिस्पर्धात्मक भावना र अध्ययनप्रति थप उत्साह बढ्ने अपेक्षा गरिएको छ। कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि वडाध्यक्ष लामिछानेले पछिल्लो समय सामुदायिक विद्यालयहरू शैक्षिक गुणस्तर सुधारतर्फ अग्रसर हुँदै गएको बताउनुभयो। राज्यबाट सामुदायिक विद्यालयमा गरिँदै आएको लगानीका कारण अभिभावकहरूको विश्वास बढेको र आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमै पढाउन चाहना बढ्दै गएको उहाँको भनाइ थियो।
विद्यालयको भौतिक तथा शैक्षिक सुधारका लागि वडा कार्यालयले निरन्तर सहयोग गरिरहेको र विद्यालय परिसरको मैदान तथा पार्किङजस्ता पूर्वाधार व्यवस्थापनका बाँकी कामहरूका लागि वडा र उपमहानगरपालिका सक्रिय रहेको उहाँले जानकारी दिनुभयो। साथै, पूर्व विद्यार्थीहरूले स्थापना गर्न लागेको कोषमा उहाँले १० हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजन भट्टराईले विद्यालयका गतिविधि अझ प्रभावकारी बनाउन अभिभावक र सरोकारवालाबाट रचनात्मक सुझाव अपेक्षित रहेको बताउनुभयो। विद्यालयमा देखिएका कमी कमजोरीलाई क्रमशः सुधार गर्दै लैजाने प्रतिवद्धता व्यक्त गर्दै उहाँले पूर्व विद्यार्थीहरूले स्थापना गरेको अक्षय कोषमा ५ हजार १ सय १ रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभयो। वार्षिकोत्सव तथा अभिभावक दिवसले विद्यालय, अभिभावक र विद्यार्थीबीचको सम्बन्धलाई थप मजबुत बनाएको सहभागीहरूले बताएका छन्।

