माघ १६ सिमरा : बारा जिल्लाको सिमरामा रहेको लोटस एकेडेमीले शुक्रबार विविध कार्यक्रमको आयोजना गर्दै विद्यालयको २५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ।
विद्यालयले शैक्षिक, खेलकुद तथा सह–पाठ्यक्रम गतिविधिमा उत्कृष्ट प्रदर्शन गर्ने छात्रछात्रालाई पुरस्कृत गर्नुका साथै सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्दै वार्षिकोत्सव मनाएको हो। कार्यक्रम लोटस एकेडेमीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोला प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो भने एन प्याब्सनका निवर्तमान अध्यक्ष पाण्डव हमाल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
कार्यक्रममा बोल्दै सिमरा पब्लिक स्कूलका प्रिन्सिपल बसन्त ढकालले उपमहानगरपालिकाले कक्षा ५ को परीक्षा लिने तयारी गर्दा निजी विद्यालय र पालिकाले निर्माण गरेको पाठ्यक्रम फरक भएकाले विद्यार्थीलाई समस्या पर्न सक्ने भन्दै यस विषयमा पुनः सोच्न आग्रह गर्नुभयो। प्रमुख अतिथि हमालले निजी विद्यालय केवल व्यापारका लागि नभई समाज रूपान्तरणको उद्देश्यले स्थापना गरिएको स्पष्ट पार्दै विद्यार्थीहरू भविष्यका कर्णधार मात्र नभई देश परिवर्तन र देश सञ्चालन गर्ने जिम्मेवारी बोकेको शक्ति भएको बताउनुभयो। उहाँले पढाइसँगै विद्यार्थीलाई बहुआयामिक रूपमा विकास गर्न अभिभावक र विद्यालयले संयुक्त रूपमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रमका अध्यक्ष भोला प्रसाद अधिकारीले लोटस एकेडेमीले विगत २५ वर्षदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको उल्लेख गर्दै शिक्षा क्षेत्रमा निजी विद्यालयको योगदान महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले भने, “विद्यालयले विद्यार्थीलाई केवल किताबी ज्ञानमा सीमित नराखी संस्कार, अनुशासन र व्यवहारिक सीपमा पनि सक्षम बनाउनुपर्ने आवश्यकता छ।” कार्यक्रमका अवसरमा विद्यालयको स्मारिका पुस्तक ‘लोटस स्मारिका’को समेत विमोचन गरिएको थियो। कार्यक्रममा लोटस एकेडेमीका संस्थापक अध्यक्ष रामप्रसाद अधिकारी, शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण शिक्षक रामप्रसाद पोखरेलले गर्नुभएको थियो।

