पौष ०१ पर्सा : पर्सा प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति रामेछाप जिल्लाको खाँडाडेवी गाउँपालिका–१ निवासी सुवराज श्रेष्ठ रहेको प्रहरीले जनाएको छ। उनी बा.२१च ७८५५ नम्बरको पिकअप गाडी चलाइरहेका थिए।
प्रहरीका अनुसार वीरगन्ज महानगरपालिका–१७ स्थित कोनियाबाट अलौतर्फ जाँदै गरेको पिकअप गाडीलाई सोमबार राति करिब ८ बजेको समयमा शंका लागेपछि जाँच गर्दा १७६ किलो गाँजा फेला परेको हो। उक्त गाँजा गाडीको पछाडिको भागमा बोराभित्र १२ वटा पोकामा लुकाइ राखिएको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरी चौकी सिर्सिया ड्राइपोर्टका इन्चार्ज वरिष्ठ प्रहरी नायब निरीक्षक श्यामबाबु यादवको नेतृत्वमा खटिएको टोलीले गाँजा बरामद गरेको हो। घटनाबारे जानकारी दिँदै प्रहरी निरीक्षक अमृत बस्नेतले गाँजा तस्करी नियन्त्रणका लागि नियमित चेकजाँच र निगरानी कडा बनाइएको बताए।
प्रहरी चौकी सिर्सिया ड्राइपोर्टमा वरिष्ठ प्रहरी नायब निरीक्षक यादव आएपछि उक्त क्षेत्र हुँदै हुने अवैध तस्करीका गतिविधिमा उल्लेख्य कमी आएको स्थानीयले बताएका छन्। पछिल्लो समय सुरक्षा व्यवस्था कडा बनाइएसँगै लागुऔषध तथा अन्य अवैध कारोबार नियन्त्रणतर्फ सकारात्मक परिणाम देखिन थालेको प्रहरीले दाबी गरेको छ। पक्राउ परेका श्रेष्ठलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको र लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान अगाडि बढाइएको पर्सा प्रहरीले जनाएको छ।

