पुष ०३ कलैया : सीमा क्षेत्रमा अवैध ओसारपसार नियन्त्रणलाई तीव्र बनाउँदै सशस्त्र प्रहरी बल बाराले विभिन्न स्थानबाट ४ लाख ५५ हजार रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ।सशस्त्र प्रहरी बल १२ न गण हेकवाका गणपति सशस्त्र प्रहरी उपरीक्षक खुम बहादुर केसीको अनुसार बुधबार बिहान ११:२५ बजे बिश्रामपुर गाउँपालिका–१ छतवा सीमा क्षेत्रमा सीमा सुरक्षा गुल्म मटिअर्वाबाट सशस्त्र प्रहरी हवल्दार जितेन्द्र गिरीको कमाण्डमा खटिएको टोलीले भारतबाट भन्सार छलि नेपालतर्फ ल्याइँदै गरेको अन्दाजी ७१ हजार रुपैयाँ बराबरको किराना सामान बरामद गरेको हो। उक्त सामान तीन जना व्यक्तिले टाउकोमा बोकी ल्याउँदै गरेका थिए।
त्यसैगरी सोही दिन बिहान ११:५५ बजे कलैया उपमहानगरपालिका–१० निलकण्ठवा सीमा क्षेत्रमा सशस्त्र प्रहरी सहायक निरीक्षक सुदिप अर्यालको नेतृत्वमा खटिएको टोलीले मोटरसाइकल प्रयोग गरी भारतबाट अवैध रूपमा नेपाल ल्याइँदै गरेको अन्दाजी ६० हजार रुपैयाँ बराबरको हार्डवेयर सामग्री तथा मोटरसाइकलसहित कुल १ लाख ६० हजार रुपैयाँ बराबरको सामान बरामद गरेको जनाएको छ।
त्यसतै बुधबार बिहान करिब ६:४५ बजे सुवर्ण गाउँपालिका–३ संतगंज सीमा क्षेत्रमा बिओपी कवहीगोठबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक विश्वराज कार्कीको टोलीले एक व्यक्तिले टाउकोमा बोकी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अन्दाजी १ लाख २० हजार रुपैयाँ बराबरको मोटर पार्ट्स बरामद गरेको छ। यस्तै सोही दिन दिउँसो १२:०५ बजे कलैया उपमहानगरपालिका–१० मटिअर्वा सीमा क्षेत्रमा सशस्त्र प्रहरी नायब निरीक्षक रामशरण सिलवालको कमाण्डमा खटिएको टोलीले तीन जना व्यक्तिले टाउकोमा बोकी भारतबाट अवैध रूपमा नेपाल ल्याइँदै गरेको अन्दाजी ४५ हजार रुपैयाँ बराबरको कस्मेटिक सामग्री तथा कपडा बरामद गरेको जनाएको छ।
यसैबीच पौष ३ गते बिश्रामपुर गाउँपालिका–४ बलिरामपुर सीमा क्षेत्रमा एफओबी बलिरामपुरबाट सशस्त्र प्रहरी नायब निरीक्षक सूर्यप्रसाद रेग्मीको नेतृत्वमा खटिएको टोलीले साइकल प्रयोग गरी नेपालबाट भारततर्फ लैजाँदै गरेको अन्दाजी २४ हजार रुपैयाँ बराबरको रेडिमेड नेपाली जुत्ता तथा भारतबाट नेपालतर्फ नेपाल भित्र्याइँदै गरेको अन्दाजी ३५ हजार रुपैयाँ बराबरको लेडिज कुर्ता–सुरुवाल बरामद गरेको छ। सशस्त्र प्रहरीले बरामद गरिएका सबै सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित भन्सार कार्यालयमा बुझाइने तयारी भईरहेको सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर केसीले जनाएको छ ।

