पुष ०९ कलैया : मधेश प्रदेशका पूर्वमुख्यमन्त्री जितेन्द्र सोनलले सरकारले तोकेको मितिमै प्रतिनिधि सभाको चुनाव हुनुपर्नेमा जोड दिनुभएको छ । उहाँले चुनाव सार्ने वा टार्ने कुनै पनि प्रयास देशका लागि घातक हुन सक्ने चेतावनी दिनुभयो । बुधवार मिडिया काउन्सिल मधेश प्रदेशले बाराको कलैयामा आयोजना गरेको ‘सञ्चारमाध्यमको अवस्था र चुनौती’ विषयक एकदिने गोष्ठी कार्यक्रममा बोल्दै पूर्वमुख्यमन्त्री सोनलले वर्तमान अवस्थामा देशमा चुनाव बाहेक अर्को कुनै विकल्प नरहेको स्पष्ट पार्नुभयो ।
उहाँले अन्तरिम सरकारले फागुन २१ गतेका लागि तोकेको प्रतिनिधि सभाको चुनाव तोकिएकै मितिमा सम्पन्न हुन नसके देश द्वन्द्व र अस्थिरताको दिशातर्फ जान सक्ने खतरा रहेको बताउनुभयो । “चुनाव ढिला भयो भने जनताको विश्वास गुम्ने र राजनीतिक अन्योल बढ्ने सम्भावना हुन्छ,” उहाँको भनाइ थियो । पूर्वमुख्यमन्त्री सोनलले निर्वाचन प्रक्रियाबाट पन्छिन खोजिरहेका ठूला राजनीतिक दलका नेता तथा कार्यकर्तालाई गम्भीर भएर चुनावको तयारीमा जुट्न आग्रह गर्नुभयो ।
उहाँले चुनावमा सहभागी नहुने अभिव्यक्ति दिँदै उम्मेदवार सिफारिस गर्दै हिँड्नु गैरजिम्मेवार व्यवहार भएको टिप्पणी गर्नुभयो ।“यदि चुनावमा सहभागी हुने हो भने औपचारिक रूपमा घोषणा गरेर अघि बढ्नुपर्छ,” उहाँले भन्नुभयो, “नत्र चुनाव बहिष्कारको बहाना बनाउँदै उम्मेदवार सिफारिस गर्नुले जनतामा भ्रम सिर्जना गर्छ ।” उहाँले वर्तमान अन्तरिम सरकारले निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा चुनाव सम्पन्न गराउन सबै आवश्यक तयारी गर्नुपर्नेमा समेत जोड दिनुभयो ।
चुनाव सफल बनाउन सरकार, सुरक्षा निकाय, राजनीतिक दल र सञ्चारमाध्यम सबैको भूमिकाको महत्त्व रहेको उहाँको धारणा थियो ।कार्यक्रममा सहभागी वक्ताहरूले मधेश प्रदेशमा सञ्चारमाध्यमले भोगिरहेका चुनौती, प्रेस स्वतन्त्रता, पत्रकार सुरक्षालगायत विषयमा समेत चर्चा गरेका थिए । गोष्ठीले पत्रकारिता क्षेत्रलाई अझ सशक्त र जिम्मेवार बनाउन यस्ता छलफल आवश्यक रहेको निष्कर्ष निकालेको आयोजकले जनाएको छ ।

