पुष २९ सिमरा ः बाराको सिमरास्थित क्लासिक प्लाजा होटेलमा मंगलबार “मधेश बालिका सम्मेलन २०२६” को औपचारिक उद्घाटन गरिएको छ। बालविवाह विरुद्ध प्रदेशस्तरीय संजाल मधेश प्रदेशको आयोजनामा सुरु भएको सम्मेलनको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले गर्नुभएको हो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख पौडेलले नेपाल–भारतबीचको बेटीरोटी सम्बन्धका कारण नेपालकी किशोरीको भारतमा विवाह हुँदा वैधानिक मानिने तर सोही विवाह नेपालमा हुँदा अवैधानिक हुने विरोधाभासपूर्ण अवस्थाप्रति ध्यानाकर्षण गराउनुभयो। उहाँले किशोरीहरू शिक्षित हुँदै गएको वर्तमान सन्दर्भमा बालविवाहजस्ता कुप्रथाविरुद्ध आफ्नै घर–समाजबाट प्रतिकार गर्न आवश्यक रहेको बताउनुभयो।
कार्यक्रममा इलाका प्रशासन कार्यालय सिमराका प्रमुख राजेन्द्रप्रसाद कंडेल, इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशी, नीति तथा योजना आयोगकी सदस्य डा. रिना यादव तथा महिला मानव अधिकारकर्मी निभा सिंहले बालविवाह, दाइजो प्रथा र सामाजिक विकृतिविरुद्धका विषयमा आ–आफ्नो धारणा राख्नुभएको थियो। ‘सक्षम बालिका, समृद्ध मधेश’ भन्ने नारासहित सुरु भएको दुईदिने सम्मेलनमा मधेश प्रदेशका आठवटै जिल्लाबाट ९० जनाभन्दा बढी किशोरकिशोरीको सहभागिता रहेको छ। प्रत्येक जिल्लाबाट ६ जना किशोरी र २ जना किशोर सहभागी भएका आयोजकले जानकारी दिएका छन्। सम्मेलनले बालिकाहरूमा नेतृत्व विकास, आत्मविश्वास अभिवृद्धि तथा सामाजिक विकृतिविरुद्ध सशक्त रूपमा आवाज उठाउने प्रेरणा दिने विश्वास गरिएको छ।

उद्घाटन सत्रमै किशोरकिशोरीहरूले बालविवाह र दाइजो प्रथाविरुद्ध सचेतनामूलक नाटक प्रस्तुत गरेका थिए। दुई दिने सम्मेलनमा मानसिक स्वास्थ्य, साइबर सुरक्षा, खुला सिमानाबाट उत्पन्न जोखिम, दाइजो प्रथा तथा बालविवाह रोकथामका विषयमा रणनीतिक छलफल हुने हाम्रो प्रयास संस्थाका ओमप्रकाश गिरीले जानकारी दिनुभयो। बालविवाह विरुद्ध प्रदेशस्तरीय सञ्जालको आयोजनामा सुरु भएको सम्मेलनमा हाम्रो प्रयास, सखी, लाइफ नेपाल, महिला सचेतना समूह, दलित विकास फोरम, मुक्ति नेपाल र परिकल्पना नेपाल सहआयोजक रहेका छन्। बालिका सम्मेलन कार्यक्रमकी संयोजक सन्ध्या पटेलको अध्यक्षतामा उद्घाटन सम्पन्न भएको हो भने उद्घाटन समारोहको सहजीकरण मोरियम खातुनले गर्नुभएको थियो। कार्यक्रम संयोजक प्रशंसा सिंहले सम्मेलनको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो।

