पुष २९ कलैया ः बारा प्रहरीले लागूऔषध ओसारपसारविरुद्धको अभियानलाई तीव्र बनाउँदै दुई क्विन्टलभन्दा बढी गाँजासहित एक जनालाई पक्राउ गरेको छ। नियमित गस्ती तथा सवारी साधन चेकजाँचका क्रममा ठूलो परिमाणको लागूऔषध गाँजा बरामद गर्न सफल भएको हो। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार पक्राउ पर्नेमा मकवानपुर जिल्लाको मनहरी गाउँपालिका–६ निवासी २४ वर्षीय निशान बहादुर सिन्चुरी रहेका छन्। उनी सवारी चालकको भूमिकामा रहेका थिए।
प्रहरी चौकी जैतापुर र अस्थायी प्रहरी पोष्ट पिलुवाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले जीतपुरसिमरा उपमहानगरपालिका–१८ बडर्वा क्षेत्रमा मनहरीबाट कलैयातर्फ आउँदै गरेको विएसी २३४३ नम्बरको योद्धा पिकअपलाई शंकास्पद देखी रोकी चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा गाडीको पछिल्लो भागमा फल्स बटम बनाई लुकाइ राखिएको लागूऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ ।
बरामद गरिएको गाँजा कालो प्लास्टिकमा प्याक गरिएको अवस्थामा २० वटा पोका रहेको र तौल २०३ किलो ८५० ग्राम रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो। उहाँका अनुसार गाँजा र सवारी साधनसहित चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको छ। प्रहरीले लागूऔषध कारोबारमा संलग्न सञ्जालबारे पनि अनुसन्धान अगाडि बढाइएको बताउँदै यस्ता अवैध गतिविधिविरुद्ध निगरानी र कारबाही अझ कडा बनाइने जनाएको छ ।

