अब ५५ वर्षमाथिलाई खोप

पछिल्लाे समाचार

चीनबाट खोप आउने निश्चित भएपछि सरकारले ५५ देखि ६२ वर्ष उमेर समूहका नागरिकलाई खोप लगाउने तयारी गरेको छ । यसअघि ६२ वर्षभन्दा माथिल्लो उमेर समूहलाई भारतबाट आएको कोभिसिल्ड र चीनको भेरोसेल खोप लगाइएको थियो ।

चीन सरकारले अनुदानमा दिएको १० लाख डोज खोप काठमाडौं उपत्यकामा ६० वर्षमाथिका र बाहिरी जिल्लामा ६२ भन्दामाथिका नागरिकलाई लगाइसकिएको छ । हिमाली जिल्ला र काठमाडौं उपत्यकामा १८ वर्षमाथिका केहीले पनि खोप लगाएका छन् । ‘अबको चरणमा ५५ वर्षमाथिका सबैलाई पहिलो खोप लगाउने सूची केही दिनमा सार्वजनिक गर्दै छौं,’ स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा प्रमुख डा।तारानाथ पोखरेलले भने ।

५५ वर्षमाथिका ३७ लाखमध्ये करिब १७ लाखलाई खोप लगाइसकेको विभागले जनाएको छ । ‘५५ वर्षमाथिका २० लाखलाई खोप लगाउन बाँकी हुन सक्छ । चाँडै खोप लगाउने दिन तय गर्छौं,’ खोप शाखा प्रमुख डा। झलक गौतमले भने । ६२ वर्षमाथिकालाई यसअघि खोप लगाइए पनि छुटेकालाई समावेश गराइने उनले बताए ।

सरकारले चीनबाट साउन पहिलो सातासम्म ३० लाख खोप ल्याउने तयारी गरेको छ । असार २५ मा पहिलोपटक १० लाख डोज ल्याउन लागिएको छ । खोप आउनेबित्तिकै खोप लगाउने उमेर समूहको निर्णय गरिने डा। पोखरेलले बताए । खोप लगाउने लक्षित वर्गमा निश्चित पेसारव्यवसायभन्दा पनि उमेर समूहलाई प्राथमिकता दिइने उनको भनाइ छ ।

कृष्णगोपाल श्रेष्ठले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेपछि बाढीपहिरो गएको सिन्धुपाल्चोक र मनाङमा तत्काल खोप कार्यक्रम सञ्चालन गर्ने निर्णय भइसकेको छ । खोप लगाउने लक्षित समूहको संख्या यकिन गर्ने काम भइरहेको पोखरेलले बताए । जिल्ला खोप समन्वय समिति सिन्धुपाल्चोकले जिल्लाका सबैलाई खोप लगाउने गरी तथ्यांक पठाएपछि बाढीपीडितको मात्रै तथ्यांक यकिन गरेर पठाउन आग्रह गरिएको विभागले जनाएको छ । सिन्धुपाल्चोकको हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिका, मेलम्ची नगरपालिकामा बाढीले क्षति पुर्‍याएको छ । त्यहाँका बासिन्दालाई खोप लगाउन सरकारले प्राथमिकतामा राखेको छ । जिल्ला खोप समन्वय समितिले चीनसँग नाका जोडिएको भोटेकोसी र जुगल गाउँपालिकाका १८ वर्षभन्दा माथिका सबैलाई खोप लगाउन सिफारिस गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख दुर्गादत्त चापागार्इंले ६७ हजार डोज खोप माग गरेको जानकारी दिए ।

सार्वजनिक यातायात व्यवसायी, चालक र सहचालकलाई पनि खोप लगाइदिन माग भएको छ । पेसागतमा जाँदा उमेर समूहलाई खोप लगाउन छुट्ने भएकाले पहिलो प्राथमिकता उमेरमा दिने पोखरेलले बताए । ‘यसअघि काठमाडौं उपत्यकामा चालक र सहचालकलाई खोप लगाउन आह्वान गर्दा खासै चासो भएन,’ उनले भने, ‘अब उहाँहरूले पनि उमेर समूह नै कुर्नुपर्ने हुन सक्छ । दोस्रो भेरिएन्टले निश्चित वर्गलाई मात्रै नभई सबै नागरिक जोखिममा रहेको देखाएको छ ।’

वैदेशिक रोजगारीमा जानेले पनि खोपको माग गरेका छन् । केही देशले खोप नलगाएसम्म प्रवेशमा समेत रोक लगाएका छन् । उनीहरूको पहिचान गर्न गाह्रो हुने भएकाले उमेर समूहकै आधारमा खोप लगाइने डा। पोखरेलले बताए ।

श्रोत – कान्तिपुर दैनिक

spot_imgspot_img
spot_img

लोकप्रिय