०६ चैत ,सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१६, पिलुवामा एलपी ग्यासको सुरक्षित प्रयोग र आगलागी नियन्त्रणसम्बन्धी जनचेतना फैलाउने उद्देश्यले एकदिने विशेष तालिम तथा सचेतनामूलक कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। ग्यास वान नेपाल प्रालिको प्राङ्गणमा आयोजित कार्यक्रम स्टार सेफ्टी सर्भिसेस प्रालि, काठमाडौंका अनुभवी प्रशिक्षकहरूको टोलीले सञ्चालन गरेको थियो। कार्यक्रममा स्थानीय बासिन्दा, विद्यार्थी, उद्योगका कर्मचारी तथा सुरक्षाकर्मीहरूको उल्लेखनीय सहभागिता देखिएको थियो। कार्यक्रममा बोल्दै वडाध्यक्ष हरिदेव खरेलले पछिल्लो समय एलपी ग्यासका कारण हुने आगलागीका घटनामा वृद्धि भएको उल्लेख गर्दै यस्ता तालिमको आवश्यकता अझ बढ्दै गएको बताए।

साथै, ग्यास वान नेपालले उपभोक्ता सुरक्षामा जिम्मेवार ढंगले काम गरिरहेको पनि उनले बताए। ग्यास वान नेपालका व्यवस्थापक सरोजराज ढकालले घरायसीदेखि औद्योगिक र व्यवसायिक क्षेत्रमा एलपी ग्यासको प्रयोग व्यापक भएकाले यसको सुरक्षित प्रयोगबारे सबै सचेत हुनुपर्नेमा जोड दिए। प्रशिक्षकहरूले तालिमका क्रममा आगलागी नियन्त्रणका आधारभूत उपाय, ग्यास चुहावट परीक्षण गर्ने तरिका, आकस्मिक अवस्थामा अपनाउनुपर्ने सावधानी लगायतका विषयमा विस्तृत जानकारी दिएका थिए। साथै, आगो निभाउने उपकरणहरूको प्रयोगसम्बन्धी अभ्यासात्मक प्रशिक्षणसमेत प्रदान गरिएको थियो।

तालिममा सहभागीहरूलाई ग्यास सिलिन्डर सधैं ठाडो राख्ने, हावा आवतजावत हुने स्थानमा राख्ने, बर्नर नजिक दहनशील वस्तु नराख्ने र आगलागी हुँदा आत्तिनुभन्दा सही तरिका अपनाउने जस्ता व्यवहारिक सुझाव दिइएको थियो। कार्यक्रमप्रति सहभागीहरूले सकारात्मक प्रतिक्रिया दिएका छन्। उनीहरूले सिकाइ व्यवहारिक र दैनिक जीवनमा सजिलै प्रयोग गर्न सकिने खालको रहेको बताए।
यसै अवसरमा ग्यास वान नेपालले गोला प्रथामार्फत ६ जनालाई निःशुल्क ग्यास सिलिन्डर वितरण गरेको जानकारी व्यवस्थापक ढकालले दिए। कार्यक्रमका अध्यक्ष तथा ग्यास वान नेपालका प्रबन्ध निर्देशक हिडेकि फुकुईले स्थानीयस्तरमा देखिएको उत्साहजनक सहभागिताप्रति खुशी व्यक्त गर्दै कम्पनीप्रति देखाइएको विश्वासका लागि उपभोक्तालाई धन्यवाद दिएका थिए।
कार्यक्रममा सशस्त्र प्रहरी बलका प्रतिनिधि, शिक्षाविद् राधेश्याम शिवाकोटी, सशस्त्र प्रहरी निरीक्षक कृष्ण पौडेल, युवा व्यवसायी रुपेश न्यौपाने लगायतको उपस्थिति रहेको थियो। स्वागत मन्तव्य कम्पनीका कर्मचारी राजकुमार गुरुङले व्यक्त गरेका थिए।


