१८ चैत, काठमाडौँ : आज हनुमान जन्मजयन्ती देशभर विभिन्न धार्मिक कार्यक्रमसहित श्रद्धापूर्वक मनाइँदै छ। हरेक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन पर्ने यस पर्वमा भक्तजनहरूले बल, बुद्धि, विद्या तथा दुःख–सङ्कटबाट मुक्ति प्राप्त हुने विश्वासका साथ हनुमान को पूजा–आराधना गर्ने परम्परा छ।यस अवसरमा राजधानीस्थित हनुमानढोका दरबार परिसर, पशुपतिनाथ मन्दिर, गोकर्णेश्वरको पञ्चमुखी हनुमान मन्दिरलगायत देशभरका हनुमान मन्दिरहरूमा विशेष पूजा, आरती तथा दर्शन गर्नेहरूको भीड लागेको छ। हनुमानढोका दरबार क्षेत्रको नासलचोक नजिक रहेको पञ्चमुखी हनुमान मन्दिरमा भने परम्पराअनुसार पुजारीले मात्र पूजा गर्ने चलन रहेको छ।
धार्मिक ग्रन्थअनुसार वायुपुत्रका रूपमा चिनिने हनुमानलाई शक्ति, भक्ति र साहसका प्रतीकका रूपमा मानिन्छ। रामायण मा भगवान् रामप्रति उनको अटल भक्ति र योगदान उल्लेख गरिएको छ। साथै, विभिन्न पुराणहरूमा हनुमानलाई शिवको अंशावतारका रूपमा पनि वर्णन गरिएको पाइन्छ। आजका दिन भक्तजनहरूले व्रत बस्ने, पवित्र नदी तथा कुण्डमा स्नान गर्ने, ‘हनुमान चालिसा’ पाठ गर्ने र मन्दिरहरूमा सिन्दूर चढाउने परम्परा निभाउने गरेका छन्। हनुमानलाई ‘सङ्कट मोचन’ तथा ‘बजरङ्ग बली’का रूपमा समेत पुजिन्छ, जसले भय, रोगव्याधि र नकारात्मक शक्तिबाट रक्षा गर्ने विश्वास गरिन्छ। यस अवसरमा देशका विभिन्न स्थानमा शोभायात्रा, भजन–कीर्तन तथा धार्मिक प्रवचन कार्यक्रम पनि आयोजना गरिएका छन्। श्रद्धालुहरूले मंगलबार र शनिबार विशेष रूपमा हनुमानको आराधना गर्ने परम्परा रहे पनि आजको दिनलाई विशेष महत्वका साथ मनाइने गरिएको छ।

