२१औँ शताब्दीमा पनि अन्धकारमै मठियानी, दियो र सोलारको भरमा ४४ घरधुरीको जीवन चल्दै

पछिल्लाे समाचार

अखिलेश कुमार यादव । जेठ ०९ सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ स्थित मठियानी बस्तीका स्थानीय अहिले पनि आधारभूत सुविधाविहीन जीवन बिताउन बाध्य छन् । देश डिजिटल युगतर्फ अघि बढिरहेको बेला मठियानीका ४४ घरधुरी भने अझै बिजुली, खानेपानी, सडक र गुणस्तरीय शिक्षाजस्ता आधारभूत सेवाबाट वञ्चित छन् । करिब २१ वर्षदेखि बसोबास गर्दै आएका स्थानीय रात पर्दा दियो र सोलारको भरमा जीवन चलाइरहेका छन् । गाउँमा विद्युत नपुग्दा बालबालिकाको पढाइदेखि मोबाइल चार्ज गर्नेसम्मका सामान्य कामसमेत कठिन हुने गरेको स्थानीयको गुनासो छ । जंगलसँग जोडिएको बस्ती भएकाले रातको समयमा जंगली जनावरको त्रास पनि उत्तिकै रहेको स्थानीय बताउँछन् । सडक बत्तीको व्यवस्था नहुँदा साँझ परेपछि गाउँ नै अन्धकारमय र त्रासपूर्ण बन्ने गरेको उनीहरूको भनाइ छ ।

स्थानीय राकेश प्रसाद यादवका अनुसार चुनावको बेला नेताहरू गाउँ पुगेर बिजुली, सडक, खानेपानीलगायत विकासका आश्वासन दिने गरे पनि चुनाव जितेपछि फर्केर समस्या बुझ्न समेत नआउने गरेका छन् । “चुनावको बेला धेरै नेता आउँछन्, सबै सुविधा बनाइदिन्छौँ भन्छन् । हाम्रो भोट लिएर मन्त्रीसम्म बन्छन् । तर जितेपछि हाम्रो समस्या हेर्न फर्केर पनि आउँदैनन्,” उनले भने ।मठियानीमा राम्रो सडक र विद्यालयको अभावका कारण बालबालिका नियमित शिक्षाबाट समेत वञ्चित हुनुपरेको स्थानीयको भनाइ छ । वर्षायाममा सडक हिलाम्मे हुँदा गाउँबाट बाहिर निस्कन कठिन हुने गरेको छ भने बिरामी पर्दा अस्पताल पुर्‍याउनसमेत समस्या हुने गरेको उनीहरू बताउँछन् । खेतीपाती नै मुख्य आम्दानीको स्रोत भए पनि सिँचाइको उचित व्यवस्था नहुँदा किसान समस्यामा परेका छन् । उत्पादन घट्दै जाँदा दैनिक गुजारा चलाउनसमेत कठिन भइरहेको स्थानीय नागेन्द्र महराले बताए । “न बिजुली छ, न सडक, न राम्रो विद्यालय । बच्चाहरूले राम्रोसँग पढ्न पाएका छैनन् । सिँचाइ छैन, खेती राम्रो हुँदैन । हामी अहिले पनि पुरानै युगमा जस्तै बाँचिरहेका छौँ,” उनले भने ।

यता वडा नम्बर १७ का वडाध्यक्ष भिम बहादुर लामा गंग्तान ले आफू निर्वाचित भएपछि मठियानी क्षेत्रमा सडक निर्माण गरिएको दाबी गरेका छन् । विद्युत विस्तारका लागि पटक–पटक पहल गरिए पनि वन कार्यालयले विद्युत प्राधिकरणलाई अनुमति नदिँदा समस्या समाधान हुन नसकेको उनले बताए । स्थानीय सरकार र सम्बन्धित निकायले विकासका योजना र बजेटको चर्चा गरिरहँदा मठियानीका नागरिक भने अझै आधारभूत सुविधाको प्रतीक्षामा छन् । विकासका नाराभन्दा वास्तविक कामको अपेक्षा गरेका स्थानीयले अब आफ्नो बस्तीमा उज्यालो, सडक र खानेपानी कहिले पुग्ने हो भन्ने प्रश्न गरिरहेका छन् ।

adv

spot_imgspot_img
spot_img

लोकप्रिय