साउन ०१ सिमरा : बारास्थित रिलायन्स चिनी मिल्समा कार्यरत दुई जना स्थायी सुरक्षा गार्डलाई बिना कारण कामबाट हटाउन खोजिएको आरोप लागेको छ। प्रभावित कर्मचारीले आफूहरूमाथि दुर्व्यवहार गरिएको तथा स्थायी जागिर छाडेर करार सेवामा आउन दबाब दिइएको बताएका छन् । करिब २० वर्षदेखि मिल्समा सुरक्षा गार्डका रूपमा कार्यरत हरेन्द्र राउत अहिर र जौआद अन्सारीले पूर्व प्रशासन शाखा प्रमुख रामनारायण यादवले आफूहरूमाथि अपशब्द प्रयोग गर्दै दुर्व्यवहार गरेको आरोप लगाएका छन्। उनीहरूले आफूहरूलाई कुनै स्पष्ट कारणबिना कामबाट हटाइएको भन्दै असन्तुष्टि जनाएका छन् ।
सुरक्षा गार्ड हरेन्द्र राउत अहिरका अनुसार पूर्व प्रशासन शाखा प्रमुख यादवले आफूहरूमाथि दुर्व्यवहार गर्नुका साथै झुटा मुद्दा लगाएर पक्राउ गर्न लगाएका थिए। अदालतबाट रिहा भएपछि पनि मिल्स प्रशासनले काममा हाजिर हुन नदिएको, दैनिक धाउन बाध्य बनाएको तथा स्थायी पदबाट राजीनामा दिएर करार सेवामा आउन दबाब दिएको उनको भनाइ छ। अर्का सुरक्षा गार्ड जौआद अन्सारीले पनि पूर्व प्रशासन शाखा प्रमुखबाट पटक–पटक अपशब्द प्रयोग भएको विषयमा मिल्स प्रशासनलाई जानकारी गराउँदा उल्टै आफूहरूमाथि नै अन्याय भएको आरोप लगाएका छन्। उनले हालसम्म पनि काममा हाजिर हुन नदिइएको दाबी गरेका छन्।
यता मिल्स युनियनका अगुवा नेता सुरेश चौधरीले पूर्व प्रशासन शाखा प्रमुखले दुई जना सुरक्षा गार्डविरुद्ध झुटा मुद्दा लगाएर पक्राउ गराएको आरोप लगाए। उनका अनुसार स्थायी सेवाबाट हटाउने निर्णय भए त्यससम्बन्धी औपचारिक पत्र दिन आग्रह गर्दा पनि प्रशासनले कुनै पत्र नदिएको बताए। आइतबार वार्ताका लागि समय तय भएको जानकारी दिँदै उनले वार्ताबाट श्रमिकको हितमा निर्णय नभए तथा दुवै सुरक्षा गार्डलाई काममा हाजिर नगराइए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। श्रमिक पक्षका अनुसार पूर्व प्रशासन शाखा प्रमुख रामनारायण यादवविरुद्ध पटक–पटक गुनासो आएपछि मिल्स प्रशासनले उनलाई जिम्मेवारीबाट हटाएको थियो। उक्त आरोपबारे प्रतिक्रिया लिन रिलायन्स चिनी मिल्स प्रशासनसँग सम्पर्क गर्ने प्रयास गरिएको भए पनि समाचार तयार पार्दासम्म सम्पर्क हुन सकेन।

