२१ चैत,सिमरा : तेस्रो जीतपुरसिमरा क्रिकेट कप आजदेखि औपचारिक रूपमा सुरु भएको छ। औराहा स्थित सेज क्रिकेट ग्राउन्डमा आयोजित प्रतियोगिताको उद्घाटन मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरीले गरेका हुन्। उद्घाटन खेलमै सर्लाही क्रिकेट क्लबले प्रभावशाली प्रदर्शन गर्दै पर्सा क्रिकेट क्लबलाई १७ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ।
टस जितेर ब्याटिङ रोजेको सर्लाहीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४५ रनको प्रतिस्पर्धात्मक योगफल तयार पारेको थियो। सर्लाहीका जितेश मण्डल उत्कृष्ट लयमा देखिए उनले ३० बलमा ५ छक्का र ३ चौकासहित ४६ रन बनाए।

परिमार्जन यादवले पनि २८ बलमा ४१ रनको महत्वपूर्ण योगदान दिए। हेमन्त सिंह (१७) र राहुल महतो (१०) ले इनिङ्स सम्हाल्न सहयोग पुर्याए। पर्साको बलिङतर्फ नितेश पटेल र वासिम मन्सुरीले समान २–२ विकेट लिए भने आदर्श भण्डारी र चन्दन रामले १–१ विकेट हात पारे। १४६ रनको लक्ष्य पछ्याएको पर्सा क्रिकेट क्लब भने दबाबमा देखिएको थियो। टोली १८.४ ओभरमै अलआउट हुँदै १२८ रनमा सीमित भएको थियो।

वासिम मन्सुरीले सर्वाधिक २३ रन बनाए भने आकिब अन्सारी (१८), आदर्श भण्डारी (१६), हासिम अन्सारी (१४) र चन्दन राम (१४) ले मध्यम योगदान दिए पनि टोलीलाई जित दिलाउन सकेनन्।
सर्लाहीका बलरहरूले सुरुवातदेखि नै कसिलो बलिङ गर्दै पर्सालाई दबाबमा राखेको थियो। जितेश मण्डलले ३.४ ओभरमा ३ विकेट लिँदै खेलको नतिजा आफ्नो पक्षमा पार्न निर्णायक भूमिका खेलेका थिए । उत्कृष्ट अलराउण्ड प्रदर्शनका लागि उनी ‘म्यान अफ द म्याच’ घोषित भए। उनलाई प्रमुख अतिथि चौधरीले ट्रफीसहित नगद पुरस्कार प्रदान गरे।

चैत २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको आयोजक जीतपुरसिमरा स्पोर्ट्स क्लबले जनाएको छ। प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ र उपविजेताले १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।
प्रतियोगिताअन्तर्गत भोलिको खेलमा जिल्ला क्रिकेट संघ बारा र सर्लाही क्रिकेट संघबीच प्रतिस्पर्धा हुनेछ।

