बाराको बकुलियामा पुल नबन्दा स्थानीयको दैनिक जीवन कष्टकर बन्दै

पछिल्लाे समाचार

२३ चैत,बारा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका–५ बकुलियामा निर्माणाधीन पुल ८ वर्षदेखि अलपत्र पर्दा स्थानीय बासिन्दा कष्टकर जीवन बिताउन बाध्य भएका छन्। समयमै काम सम्पन्न नहुँदा दैनिक आवतजावत नै जोखिमपूर्ण बनेको छ भने स्थानीयले ज्यानकै जोखिम मोलेर पुलमुनि हुँदै यात्रा गर्नुपर्ने अवस्था छ। वर्षायाममा समस्या झनै भयावह बन्छ। पानी बढेसँगै बाटो अवरुद्ध हुने, विद्यार्थी विद्यालय जान नपाउने र साना बालबालिका समेत खस्ने घटना हुने गरेको स्थानीय इरफान अन्सारीले गुनासो गरे ।

पटक–पटक उपमहानगरपालिकालाई ध्यानाकर्षण गराए पनि काम अघि नबढेको भन्दै उनीहरू आक्रोशित छन्। स्थानीय मुन्ना अन्सारीका अनुसार पुल नबन्दा समस्या मात्र बढेको छैन, उद्योगबाट निस्कने प्रदूषित पानी पनि सोही क्षेत्रमा बग्ने गरेको छ। त्यही पानी पिएर गाईभैंसी र कुखुरा मर्ने गरेको उनले बताए, जसले स्थानीयको जीविकोपार्जनमै असर पुर्‍याएको छ। उपमहानगरपालिकाका अनुसार पुल निर्माणका लागि गठित उपभोक्ता समितिका अध्यक्षको मृत्यु भएपछि काम अलपत्र परेको हो। त्यसयता कसैले चासो नदिँदा परियोजना रोकिएको जनाइएको छ। अहिले भने नयाँ एस्टिमेट तयार भइसकेको र वैशाखमा टेन्डर आह्वान गर्ने तयारी भइरहेको इन्जिनियर अभयकान्त झाले जानकारी दिए। तर, चालु आर्थिक वर्षमै पुल निर्माण सम्पन्न हुने सम्भावना नरहेको उनको भनाइ छ।

यति मात्र होइन, उपमहानगरले सञ्चालन गरेका कयौं योजनाहरूमा बजेट अभाव र ढिलासुस्तीका कारण काम समयमा सम्पन्न हुन सकेको छैन। परिणामस्वरूप स्थानीयवासीले निरन्तर सास्ती खेप्नुपरेको छ। तर, जनप्रतिनिधिहरू भने यी समस्याप्रति गम्भीर नदेखिएको, ‘कानमा तेल हालेर बसेजस्तो’ व्यवहार गरेको स्थानीयको आरोप छ। ८ वर्ष बितिसक्दा पनि एउटा सानो पुल निर्माण गर्न नसक्नु स्थानीय तहको कार्यक्षमतामाथि गम्भीर प्रश्न उठाउने विषय बनेको छ। “बन्दैछ जीतपुरसिमरा” भन्ने नारा दिँदै विकासको दाबी गरिए पनि यस्ता आधारभूत पूर्वाधारका काम कागजमै सीमित भएको देखिन्छ। उपमहानगरको ढिलासुस्ती र बेवास्ताले स्थानीयवासी अझै सास्ती खेप्न बाध्य छन्।

adv

spot_imgspot_img
spot_img

लोकप्रिय