अमलेखगञ्जमा भीषण हावाहुरीले सयौं स्थानीय प्रभावित, राहतको पर्खाइमा पीडित

पछिल्लाे समाचार

अखिलेश कुमार यादव ।११ जेठ,सिमरा : शनिबार साँझ आएको भीषण हावाहुरीले बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २२ का विभिन्न बस्तीमा ठूलो क्षति पुर्‍याएको छ । बिरेदमार, मुलखोला, चकरी र नयाँबस्ती क्षेत्रमा दर्जनौं घरमा क्षति पुगेपछि स्थानीय बासिन्दा खुला आकाशमुनि बस्न बाध्य भएका छन् । स्थानीयका अनुसार बिरेदमार क्षेत्रमा मात्रै २६ वटा घरमा क्षति पुगेको छ । हावाहुरीले केही घर पूर्ण रूपमा भत्काएको छ भने धेरै घरका छाना उडाएको छ । अचानक आएको हुरीले घरबार गुमेपछि अधिकांश परिवार समस्यामा परेका छन् । स्थानीय ५५ वर्षीया एकल महिला राममाया मोक्तानले हावाहुरीले आफ्नो घर पूर्ण रूपमा ध्वस्त बनाएको बताइन् । “घरको छाना मात्र होइन, पुरै घर भत्कियो । घरभित्र राखिएको अन्नपात पनि पानीले भिजेर नष्ट भयो,” उनले दुखेसो पोखिन् । अहिले आफू पूर्ण रूपमा घरबारविहीन बनेको उनले बताइन् ।

त्यस्तै अर्की स्थानीय माया भुमे स्याङतानको घरको छाना उडाएपछि उनी पनि परिवारसहित खुला आकाशमुनि बस्न बाध्य भएकी छन् । प्रभावित स्थानीयहरूले तत्काल राहत तथा पुनःस्थापनाको माग गरेका छन् । हावाहुरीका कारण केही स्थानमा ठूला रुख ढलेपछि सडकसमेत अवरुद्ध बनेको थियो । विद्युत सेवा अझै पूर्ण रूपमा सञ्चालनमा आउन नसक्दा स्थानीय थप समस्यामा परेका छन् । अन्धकारसँगै खानेपानी, सञ्चार र दैनिक जनजीवन प्रभावित बनेको स्थानीयको गुनासो छ । क्षतिको पूर्ण विवरण आउन बाँकी रहे पनि वडा नं. २२ मा मात्रै सयौं स्थानीय प्रभावित भएको अनुमान गरिएको छ । घटनापछि जीतपुरसिमरा उपमहानगरपालिकाले वडा अध्यक्ष शेखर काजी रुम्बाको संयोजकत्वमा विपद् व्यवस्थापन समिति गठन गरी क्षतिको विवरण संकलन सुरु गरेको छ । डाध्यक्ष शेखर काजी रुम्बाका अनुसार छाना पूर्ण रूपमा उडाएका घरधनीलाई २५ हजार रुपैयाँ तथा सामान्य क्षति भएका घरलाई १५ हजार रुपैयाँ राहत उपलब्ध गराउने गरी विवरण संकलन भइरहेको छ । उनले वास्तविक पीडित पहिचान गरी राहत वितरण प्रक्रिया अगाडि बढाइएको बताए ।

घटनास्थलको निरीक्षणका लागि बारा क्षेत्र नं. ४ का सांसद रहबर अन्सारी समेत पुगेका थिए । उनले पीडितलाई उचित राहत र क्षतिपूर्तिका लागि सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाएका छन् । त्यसैगरी नगरप्रमुख राजन पौडेलसहित जनप्रतिनिधिको टोलीले पनि प्रभावित क्षेत्रको अवलोकन गरेको छ । यद्यपि विभिन्न जनप्रतिनिधि तथा सरकारी टोली निरीक्षणमा पुगे पनि पीडित स्थानीय अझै वास्तविक राहतको प्रतीक्षामा छन् । वर्षायाम सुरु भइसकेको अवस्थामा घरविहीन बनेका परिवारलाई तत्काल अस्थायी बसोबास, खाद्यान्न र पुनःस्थापनाको व्यवस्था गर्नुपर्ने स्थानीयको माग छ । स्थानीय बासिन्दाले विपद्को घडीमा सरकारसँग शीघ्र राहत, सुरक्षित आवास र दीर्घकालीन पुनःनिर्माण योजनाको अपेक्षा गरेका छन् ।

adv

spot_imgspot_img
spot_img

लोकप्रिय