जीतपुरसिमराको शिक्षा अवस्था छर्लङ्ग, कक्षा ८ मा आधाभन्दा बढी विद्यार्थी फेल

पछिल्लाे समाचार

अखिलेश कुमार यादव ।२६ चैत ,सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले सार्वजनिक गरेको कक्षा ८ को नतिजाले यहाँको शिक्षा प्रणालीको कमजोर धरातल नाङ्गै बनाइदिएको छ। २ हजार १ सय २२ विद्यार्थी सहभागी रहेको परीक्षामा ५२.७४ प्रतिशत विद्यार्थी फेल हुँदा मात्र ४७.२६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
चैत १० देखि १८ गतेसम्म सञ्चालन भएको परीक्षा चैत २४ गते सार्वजनिक गरिएको हो। ५९ विद्यालयमध्ये २९ सामुदायिक र ३० संस्थागत विद्यालयका विद्यार्थी सहभागी थिए। नतिजाले विशेषगरी सामुदायिक विद्यालयको दयनीय अवस्था उजागर गरेको छ।


उपमहानगरभित्रका थानी आधारभूत विद्यालय विरेदमार, आदर्श आधारभूत विद्यालय नहरक्याम्प, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय छातापिप्रा र नेपाल राष्ट्रिय मैवादेवी माध्यमिक विद्यालय डकाहा को नतिजा शून्य आएको छ। यति मात्र होइन, ७ वटा सामुदायिक विद्यालयले १० प्रतिशत पनि कटाउन सकेनन्। करोडौं रुपैयाँ खर्च गरेर पनि यस्तो नतिजा आउनु शिक्षा व्यवस्थापनमाथिको ठाडो प्रश्न हो। सामुदायिकतर्फ श्री जन जागृती माध्यमिक विद्यालय (७३.७%) ले उत्कृष्ट नतिजा ल्याए पनि धेरै विद्यालयको अवस्था निकै कमजोर छ। जनकल्याण आधारभूत विद्यालय (७२.७%), हंशबाहिनी आधारभूत विद्यालय पिपरिया (७१.४%) र नेपाल राष्ट्रिय आधारभूत विद्यालय नितनपुर (५२.४%) ले मात्रै केही राहत दिने नतिजा दिएका छन्।


संस्थागत विद्यालयतर्फ भने समग्रमा राम्रो नतिजा देखिएको छ। बारा एकता बोर्डिङ स्कूल (९६.८%) शीर्ष स्थानमा रहँदा सेन्ट अल्फान्स स्कूल औराहा (९३%), राष्ट्रिय विभूति शिक्षा सामुदायिक सदन डुमरवाना (९२%), साना किसान शिक्षा सदन (९१.३%), अक्षरा पाठशाला (८८.६%), ब्राइटर एकेडेमी सिमरा (८७.२%) र सफल होराइजन बोर्डिङ स्कूल (८६.७%) ले उच्च नतिजा दिएका छन्। तर निजी विद्यालयभित्रै पनि सबै ठीक छैन। लोटस एकेडेमी सिमरा को नतिजा ३५.८ प्रतिशत मात्रै रहँदा ५३ मध्ये १९ विद्यार्थी मात्र पास भएका छन्, जुन संस्थागत विद्यालयकै सबैभन्दा कमजोर प्रदर्शन हो।


विषयगत रूपमा गणितमा सबैभन्दा ठूलो संकट देखिएको छ। ८ सय ९३ विद्यार्थी गणितमा फेल भएका छन्। त्यसपछि विज्ञान (७४०), अंग्रेजी (४०५), नेपाली (३७२), स्वास्थ्य (३३२) र सामाजिक (२८७) विषयमा पनि ठूलो संख्यामा विद्यार्थी अनुत्तीर्ण भएका छन्।
जिपिएतर्फ ३.६ देखि ४ सम्म १०३ जना, ३.२ देखि ३.६ सम्म ५२२, २.८ देखि ३.२ सम्म ३१०, २.४ देखि २.८ सम्म ५९ र २ देखि २.४ सम्म ५ जना विद्यार्थी रहेका छन्। कुल १ हजार १ जना विद्यार्थीले जिपिए ल्याउँदा १ हजार १ सय १३ जना विद्यार्थीले जिपिए नै पूरा गर्न सकेनन्।


उपमहानगर शिक्षा महाशाखाका अधिकृत हरिसप्रसाद भट्टले नतिजालाई स्वयं लज्जास्पद भएको स्वीकार गरेका छन्। उनले भने, “यसपटकको परीक्षाफल लज्जास्पद नै छ, केही विद्यालय निल नै भएका छन्, नमुना विद्यालयहरूको पनि सन्तोषजनक परीक्षाफल छैन। यो परीक्षाले विद्यार्थी, अभिभावक र शिक्षकको मात्रै होइन, उपमहानगरभित्र रहेका हामी कर्मचारीको पनि मूल्याङ्कन गरेको छ।” उपमहानगरले सामुदायिक विद्यालय सुधारका नाममा वर्षेनी ठूलो बजेट खर्च गर्दै आएको छ। तर नतिजाले देखाएको अवस्था भने उल्टै छ—लगानी बढ्दो, नतिजा खस्कँदो। शून्य नतिजा दिने विद्यालयदेखि १० प्रतिशत पनि कटाउन नसक्ने विद्यालयसम्मको अवस्था हेर्दा अनुगमन, व्यवस्थापन र शिक्षण पद्धतिमा गम्भीर लापरबाही भएको संकेत मिल्छ।

adv

spot_imgspot_img
spot_img

लोकप्रिय