मिसन पार्टी जागरण अभियान अन्तर्गत प्रसौनी गाउँपालिकामा जनतासँग प्रत्यक्ष संवाद कार्यक्रम सम्पन्न

पछिल्लाे समाचार

असार १६ सिमरा : नेकपा एमालेको “मिसन पार्टी जागरण अभियान” अन्तर्गत आज प्रसौनी गाउँपालिका स्थित नकटुवा चौकमा चियापान तथा जनतासँग प्रत्यक्ष संवाद कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको मुख्य उद्देश्य जनताका आवाज, सुझाव तथा स्थानीय स्तरमा रहेका समस्या प्रत्यक्ष रूपमा सुन्नु, पार्टी र जनताबीचको सम्बन्धलाई अझ मजबुत बनाउनु तथा जनअपेक्षाअनुसार संगठनलाई थप सक्रिय, उत्तरदायी र प्रभावकारी बनाउनु रहेको नेकपा एमाले प्रसौनी नगर समितिले जनाएको छ। कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य ई. मोबिन आलमले पार्टीले जनताको भावना, आवश्यकता र अपेक्षालाई केन्द्रमा राखेर अभियान सञ्चालन गरिरहेको बताउनुभयो। उहाँले जनतासँग प्रत्यक्ष संवादमार्फत स्थानीय समस्याको पहिचान गरी समाधानका लागि पहल गरिने उल्लेख गर्नुभयो। साथै पार्टी संगठनलाई गाउँ–गाउँसम्म थप सशक्त र जनमुखी बनाउने अभियान निरन्तर अगाडि बढ्ने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रमका क्रममा सहभागी स्थानीयवासीहरूले विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, खानेपानी तथा आधारभूत सेवासम्बन्धी आफ्ना धारणा, सुझाव र अपेक्षा राखेका थिए। सहभागीहरूबाट प्राप्त सुझावलाई पार्टीको आगामी नीति तथा कार्यक्रम निर्माणमा समेट्ने प्रतिबद्धता समेत व्यक्त गरिएको थियो। प्रसौनी गाउँपालिका कमिटी अध्यक्ष नाजिर हुसेनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश कमिटी सदस्य सुनिल पाल, प्रदेश कमिटी सदस्य मोहम्मद रफिक मियाँ, प्रसौनी गाउँपालिकाका प्रमुख विनोद पटेल, जिल्ला सचिवालय सदस्य असेसर गुप्ता तथा पूर्व डिएसपी राजेश्वर साहको विशेष उपस्थिति रहेको थियो।

त्यसैगरी वडा नम्बर १ का वडा अध्यक्ष लालबाबु मुखिया, वडा नम्बर ३ का वडा अध्यक्ष छोटेलाल साह लगायत स्थानीय जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा गाउँपालिका कमिटीका उपाध्यक्ष सरोज शाह, सचिव शशिकान्त महतो, उपसचिव ब्रिजकिशोर साह, राजेन्द्र सहनी, महिला नेत्री बन्धना साह, जुल्फीकार अलि, उपेन्द्र यादव, विकास कुशवाहा, फिरोज हावारी, मक्सुद अन्सारी, शेख जौवाद लगायत करिब ५० जनाको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले यस्तो प्रत्यक्ष संवाद कार्यक्रमले जनताका भावना नेतृत्वसम्म पुर्‍याउन प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।

spot_imgspot_img
spot_img

लोकप्रिय