असार १६ सिमरा । जीतपुरसिमरा उपमहानगरपालिकाले वडा नं. ७, जीतपुरस्थित मदरसा इस्लामियाका प्रधानाध्यापक अब्दुल सतार अन्सारीको असामयिक निधनप्रति शोक व्यक्त गर्दै उपमहानगरपालिका अन्तर्गत सञ्चालित सबै सामुदायिक तथा संस्थागत (निजी) विद्यालयमा एक दिन शोक बिदा दिने निर्णय गरेको छ। उपमहानगरपालिकाद्वारा जारी सूचनाअनुसार अन्सारीको असार १५ गते निधन भएको हो। उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उपमहानगरपालिकाले शैक्षिक उत्थान तथा मदरसाको विकासमा उहाँले पुर्याएको योगदानको उच्च कदर गरेको जनाएको छ।
साथै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरिएको छ ।उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शिवजी प्रसादद्वारा जारी सूचनाअनुसार दिवंगत अन्सारीप्रति श्रद्धाञ्जली व्यक्त गर्न असार १७ गते बुधबार उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत (निजी) विद्यालयमा शोक बिदा रहनेछ।

