असर १६ सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १० नितनपुरस्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयलाई मंगलबार डेस्कबेन्च, पंखा र कार्पेट हस्तान्तरण गरिएको छ। एक कार्यक्रमका बीच वडा नं. १० का वडाध्यक्ष सञ्जय पटेलले विद्यालयका प्रधानाध्यापक जयप्रकाश रायलाई सो सामग्री हस्तान्तरण गर्नुभएको हो। कार्यक्रममा बोल्दै वडाध्यक्ष पटेलले विद्यालयमा विद्यार्थी संख्या बढ्दै जाँदा आवश्यक फर्निचरको अभाव भएको जानकारी प्राप्त भएपछि वडा कार्यालयले त्यसलाई प्राथमिकतामा राखेर बजेट व्यवस्थापन गरेको बताउनुभयो। गुणस्तरीय शिक्षाका लागि आवश्यक भौतिक पूर्वाधारको व्यवस्था गर्नु स्थानीय सरकारको दायित्व भएको उल्लेख गर्दै उहाँले आगामी दिनमा पनि विद्यालयको आवश्यकता अनुसार सहयोगलाई निरन्तरता दिइने बताउनुभयो।

वडा कार्यालयका अनुसार वडास्तरीय योजना अन्तर्गत विनियोजित ४ लाख ५३ हजार ७ सय ५० रुपैयाँको बजेटबाट विद्यालयलाई ४० थान डेस्क–बेन्च, १६ थान सिलिङ पंखा र १० मिटर कार्पेट उपलब्ध गराइएको हो। विद्यालयका प्रधानाध्यापक जयप्रकाश रायले विद्यार्थी संख्या वृद्धि भएसँगै कक्षाकोठामा डेस्क–बेन्चको अभाव भइरहेको अवस्थामा वडा कार्यालयबाट प्राप्त सहयोग निकै उपयोगी भएको बताउनुभयो। उहाँले यस सहयोगले विद्यार्थीलाई व्यवस्थित र सहज वातावरणमा अध्ययन गर्न मद्दत पुग्ने उल्लेख गर्दै वडा कार्यालयप्रति धन्यवाद व्यक्त गर्नुभयो। साथै विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा राख्नुभयो।सो डेस्कबेञ्च पंखार कार्पेट हस्तान्तरण कार्यक्रममा जीतपुरसिमरा शिक्षा तथा युवा खेलकुद शाखा प्रमुख शिवजी प्रसाद लगाएत विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा स्थानीयवासीको उपस्थिति रहेको थियो ।

