एमाले जितपुरसिमरा नगर कमिटी बैठक सम्पन्न, संगठन सुदृढीकरणमा जोड

पछिल्लाे समाचार

असार १६ सिमरा : नेकपा एमाले जितपुरसिमरा उपमहानगर कमिटीको बैठक मंगलबार सिमरास्थित जिफन्ट कार्यालयमा सम्पन्न भएको छ। बैठकमा पार्टीको ‘मिसन पार्टी जागरण अभियान’लाई प्रभावकारी रूपमा सञ्चालन गर्ने तथा संगठनलाई थप व्यवस्थित, सुदृढ र चलायमान बनाउने विषयमा विस्तृत छलफल भएको जनाइएको छ। नगर कमिटी अध्यक्ष त्रिलोक ठकुरीको अध्यक्षतामा सम्पन्न बैठकमा पार्टीका जिल्ला इन्चार्ज तथा एमाले केन्द्रीय सदस्य अच्युत मैनाली प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। बैठकलाई सम्बोधन गर्दै मैनालीले पार्टी संगठनलाई जनतासँग अझ नजिक बनाउँदै वडा तहसम्म संगठन विस्तार र सुदृढीकरणमा जोड दिनुपर्ने बताउनुभयो।

उहाँले मिसन जागरण अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्दै पार्टीका गतिविधिलाई जनस्तरसम्म पुर्‍याउन सबै नेता तथा कार्यकर्ताले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो। बैठकले अभियानलाई थप प्रभावकारी बनाउन असार २० गतेभित्र उपमहानगरपालिका अन्तर्गतका सबै वडामा अनिवार्य रूपमा वडा कमिटीको बैठक आयोजना गर्ने निर्णय गरेको छ। साथै असार २५ गतेभित्र सम्पूर्ण पार्टी सदस्यहरूको सदस्यता नवीकरण गरिसक्ने निर्णय गरिएको सचिव रबिन्द्रराज भण्डारीले जानकारी दिनुभयो। त्यसैगरी, जीतपुरसिमरा उपमहानगरपालिकाले माग गरेबमोजिम भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी व्यवस्थापन सहजीकरण समितिका लागि एमालेको तर्फबाट रमेश सापकोटालाई प्रतिनिधि चयन गरी पठाउने निर्णय पनि गरिएको छ।

बैठकमा अध्यक्ष ठकुरीले संगठनलाई अनुशासित, सक्रिय र परिणाममुखी बनाउने दिशामा नगर कमिटी अघि बढिरहेको बताउँदै अभियान सफल बनाउन सबै तहका नेता–कार्यकर्ताबीच समन्वय र एकताको आवश्यकता औँल्याउनुभयो। कार्यक्रममा एमाले केन्द्रीय सदस्य सीता सुबेदी, मधेस प्रदेश सचिव मनोज पौडेल, दिनेश्वर ठाकुर, कमलेश झा, भोलाप्रसाद अधिकारी लगायत नगर कमिटीका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन रबिन्द्रराज भण्डारीले गर्नुभएको थियो भने स्वागत मन्तव्य रबिन्द्र खकुरेलले व्यक्त गर्नुभएको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय