सेवा , सुविधा र ट्रेड युनियन अधिकारको माग गर्दै नारायणी स्पात उद्योगका श्रमिकको निरन्तर प्रदर्शन

पछिल्लाे समाचार

साउन १३ सिमरा : बाराको जितपुरसिमरा उपमहानगरपालिका–९ स्थित नारायणी स्पात उद्योगका सेवाबाट हटाइएका १०९ जना श्रमिकले आफ्ना माग पूरा नभएको भन्दै आज पनि चौथो दिन उद्योगको मूल गेटअघि धर्ना दिएका छन् । श्रमिकहरूले श्रम ऐनअनुसार पाउनुपर्ने सेवा–सुविधा, सामाजिक सुरक्षा, ट्रेड युनियन अधिकार तथा श्रमिक अधिकारको माग उठाएकै कारण उद्योग व्यवस्थापनले आफूहरूलाई सेवाबाट हटाएको आरोप लगाएका छन्। उनीहरूका अनुसार करिब डेढ महिनाअघि उद्योग व्यवस्थापनसमक्ष मागपत्र बुझाइए पनि त्यसको सम्बोधन गर्नुको सट्टा आन्दोलनमा सहभागी श्रमिकलाई हटाउने निर्णय गरिएको हो।

माग पूरा गराउन श्रमिकहरूले साउन १० गतेदेखि उद्योगको मूल गेटमा दैनिक धर्ना, नाराबाजी र जुलुससहित शान्तिपूर्ण आन्दोलन गर्दै आएका छन्। सात वर्षदेखि उद्योगमा कार्यरत श्रमिक राजेश सिटौलाले ट्रेड युनियन दर्ता प्रक्रियामा लागेपछि उद्योगले क्रमशः श्रमिक कटौती गर्दै आएको र अहिले रोजगारी गुमेपछि परिवारको जीविकोपार्जन नै संकटमा परेको बताए। आन्दोलनरत श्रमिकहरूले शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दै बल प्रयोग गरेको आरोपसमेत लगाएका छन्। केही श्रमिकले खाली कागजमा हस्ताक्षर गरेपछि मात्र काममा फर्कन दिने दबाब दिइएको तथा स्थायी श्रमिक हटाएर ठेक्का प्रणालीमार्फत काम गराउने तयारी भइरहेको दाबी गरेका छन्। उनीहरूले यसले संविधानले प्रत्याभूत गरेको संगठन खोल्ने, ट्रेड युनियनमा आबद्ध हुने तथा शान्तिपूर्ण आन्दोलन गर्ने अधिकारमाथि हस्तक्षेप भएको बताएका छन्।

यता नारायणी स्पात उद्योगका प्रशासन शाखा प्रमुख अनिल गुप्ताले उद्योग अगाडि भइरहेको प्रदर्शनका कारण नियमित उत्पादन प्रभावित भएको बताएका छन्। आन्दोलनमा उद्योगका ४–५ जना मात्रै श्रमिक सहभागी रहेको र बाहिरबाट मानिस ल्याएर अनावश्यक होहल्ला गरिएको उनको दाबी छ। यसबीच श्रमिक पक्षले श्रम कार्यालय, स्थानीय प्रशासन तथा सम्बन्धित निकायलाई उद्योग व्यवस्थापनसँग वार्ताको वातावरण बनाई समस्या समाधान गरिदिन आग्रह गरेको छ। उद्योग व्यवस्थापनले भने कानुनी प्रक्रियाअनुसार आवश्यक निर्णय भइरहेको जनाएको छ। दुवै पक्षबीच सहमति हुन नसक्दा विवाद अझै समाधान हुन सकेको छैन।

spot_imgspot_img
spot_img

लोकप्रिय