“हेलो सरकार” कृष्णको होला त उपचार ?

पछिल्लाे समाचार

हेटौंडा–कैलाश गाउँपालिका–७, कोथलीटारका २५ वर्षीय कृष्ण चेपाङ चितवनको पुरानो मेडिकल कलेजमा २ लाख रुपियाँ तिर्न नसक्दा तीन दिनदेखि औषधी नपाएर आईसीयुमा छट्पटिएका छन् ।

उनकी पत्नी रश्मिताले “मर्नुको बिकल्प छैन” भनेर फोन गरेर रोएपछि सञ्चारकर्मी शिवकुमार काशीले प्रधानमन्त्रीको कार्यालय (हेलो सरकार) मा उजुरी गरे ।

कार्यालयले चासो व्यक्त गर्दै आइतबार फोन गरेर सोधखोज गरेको छ भने पुरानो मेडिकल कलेज सञ्चालकलाई उपचारको व्यवस्था मिलाउन भनेको छ । “आशा छ, उनको उपचार पुनः सुचारु हुनेछ,” काशीले भने ।

कृष्णलाई असार २३ गते साँझ बसामाडीमा मोटरसाइकलले ठक्कर दिएको थियो । उनी केही महिनादेखि ज्यामी काम गरेर बसामाडीमा छोराछोरी पत्नीसाथ बस्दै आएका थिए ।

गाउँमा सामान्य जीवन बिताउँदै आएका कृष्णलाई कोभिड नियन्त्रणका लागि गरिएको निषेधाज्ञाले उकुसमुकुस बनाएरै छाड्यो । कृष्ण, पत्नी, ५ वर्षकी छोरी र साढे ३ वर्षका छोरासहित घरबाट निस्किए । उनको लक्ष्य थियो– ज्याला÷मजदुरी गर्ने र केही पैसा कमाएर फेरि गाउँ फर्कने ।

सोचेअनुसार हुँदै थियो । दिनभरि घर निर्माणसम्बद्ध मजदुरको रुपमा काम गर्ने, साँझपख डेरामा फर्केर परिवारका साथ रमाउने । यस्तै गरी दैनिकी पूरा हुँदै थियो कृष्णको । अब नगद १०÷१२ हजार रुपियाँ कमाइसकेपछि डेरा छाडेर पुनः कोथलीटार फर्कने योजना बन्दै थियो ।

त्यत्तिकैमा एक साँझको घटनाले कृष्णलाई डेरामा होइन, अस्पतालको आईसीयु कक्षको बेडमा बेहोसीमै पु¥यायो । साँझपख तरकारी किन्न बसामाडीस्थित मुल सकडछेऊको दोकानतिर हान्निएका उनलाई अकस्मात् मोटरसाइकलले ठक्कर दियो ।

टाउको फुटेर गम्भीर घाइते भएका कृष्णलाई तत्काल चुरेहिल अस्पताल ल्याइयो । तर, चुरेहिलले पनि रिफर गरेर चितवनको पुरानो मेडिकल कलेज पठायो । लगातार आईसीयु कक्षमा राखे कृष्णको उपचार भयो ।

१५ औं दिनसम्म आईसीयु कक्षमा गरिएको उपचारपछि कृष्ण बिस्तारै बोल्नसक्ने भएका छन् । तर, पनि यस अवधिसम्म कृष्णलाई ठक्कर दिने मोटरसाइकलवाला अस्पताल देखा परेनन् । न त उपचार खर्च नै ब्यहोर्ने स्थिति बन्यो । साउन ६ गते विहान डाक्टरले माग गरेको औषधी पुरानो मेडिकल कलेजको फार्मेसीमा पुगेकी रश्मितालाई फार्मेसीले जवाफ दियो–तपार्इंको बिरामीको चार लाख रुपियाँभन्दा बढी तिर्नुपर्ने भइसकेको रहेछ । औषधी रोक्नु भनेर निर्देशन आएको छ ।

फार्मेसी सञ्चालकको यस्तो प्रतिक्रियापछि रश्मिता विक्षिप्त भइन् । घाइते बनाउने मोटरसाइक पक्षधर आएर उपचारका लागि सहजीकरण र व्यवस्थापन गरिदेलान् भन्ने ठूलो आशा थियो चेपाङ परिवारको । तर, त्यो सम्भव भएन ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले मोटरसाइकल ठक्कर दिएर फरार रहेका हेटौंडाका सञ्जय लामालाई मंगलबार साँझ पक्राउ ग¥यो । तर, पक्राउ परेका सञ्जयले पैसा तिर्नसक्ने हैसियत राख्दैनन् । प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले लामालाई पक्राउ गरेर मुद्धा चलाइएको बताए । तर, त्यो कानुनी कारबाहीमात्र हो ।

पीडक पक्षले पूरा गर्नुपर्ने उपचारको कर्तव्य पूरा गरिएको छैन । ‘पैसा खोजेर अस्पतालमा बिरामी उपचार गर्ने वातावरण निर्माणका सहजीकरण गयौं । तर, उसले पैसा जम्मा गर्न नसकेपछि पक्राउ गरेर कानुनी उपचार खोजेका छौं, रिमालले भने । आर्थिक समस्याबाट गुज्रेका सञ्जयले रकम जुटाउन नसक्दा कृष्णको उपचार अन्यौल बन्दै गएको हो ।

बिरामीलाई बचाउनका लागि उपचार पहिलो प्राथमिकता हो । तर, पीडक पनि गरिब र बिपन्न परिवारका भएकाले उपचार खर्च दिनसक्ने अबस्थाका छैनन् । यद्यपि, उनीविरुद्ध मुद्धा चलिसकेकाले अदालतले उपचार खर्च पक्कै पनि उपलब्ध गराउन आदेश जारी गर्ने छ । तर, तत्कालका लागि ज्यान जोगाउन उपचार खर्च अभाव छ ।

यस्तो जटिल अबस्थामा कतै भनसुन गरेर भए पनि उपचारको व्यवस्था मिलाउन प्रयत्न भइरहेको कैलाश गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तान बताउँछन् । “कानुनी कारबाही त हुँदै गर्ला तर कृष्णको ज्यान बचाउनका लागि उपचार सुचारु गराउन विभिन्नढंगले पहल गरिरहेका छौं,” मुक्तानले भने । यसअघि जिल्ला प्रहरी कार्यालय मकवानपुरको सहजीकरणमा कृष्णको उपचार भइरहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय