एकवर्षमा १३ हजार फूलका बिरुवा

पछिल्लाे समाचार

हेटौंडा–हेटौंडा उपमहानगरपालिकाले गत आर्थिक वर्षमा १३ हजार ३ वटा फूलका बिरुवा नगरका बिभिन्न सडकपेटीमा रोपेको छ । हेटौंडालाई सुन्दर र फूलैफूलको शहरका रुपमा विकास गर्ने लक्ष्यसाथ १३ हजार फूलका बिरुवा रोपिएको उपमहानगर मेयर हरिबहादुर महतले बताए ।

उपमहानगरपालिकाका साविकका वडासँगै थपिएका वडाहरुका सडकपेटीमा समेत फूल रोपिएका छन् । फूलले हेटौंडा बजार क्षेत्रका फराकिला सडकमा थप सुन्दरता दिएको उनको धारणा छ । बिगत चार वर्षमा सडक फराकिलो पार्ने, त्यसमा पेटी निर्माण गर्ने र फूल रोप्ने अभियानलाई तीव्रता दिइएको मेयर महतले बताएका छन् ।

हेटौंडाको नगरपालिका रोड, भैरवरोड, सानोपोखरा, मानसचोक, माछाप्लान, कान्तिराजपथ, बसपार्क, बाइपास सडक, अजरअमर रोड, पिपलबोट रोड, राप्तिरोड, जिल्ला प्रहरी कार्यालयअगाडि, मनकामना चोक, भुटनदेवी चोक, अस्पताल गेट, प्रदेशसभा भवन रोड र आसपास क्षेत्र, क्याम्पाचौर, बुद्धचोकलगायत क्षेत्रमा फूलका बिरुवा रोपिएका छन् ।

हिउँदमा रोपिएका बिरुवा मर्ने समस्या धेरै भए पनि वर्षामा रोपिएका बिरुवा हुर्कने गरेका छन् । बिरुवामा हिउँदमा दिनहुँजसो पानी हाल्ने, गोड्ने काम गरिँदै आएको छ । तापनि बिरुवा मर्ने समस्या त्यतिकै रहेको छ ।

हेटौंडाका बिभिन्न सडकपेटी र बगैंचामा निलकाँडा, क्यातुके, साइकस, धुपी, हेजप्लान्ट, गुलमोहर, कोलिस, बोटल पान, निलो फूल, अशोक, बेगनबेली, एरिला पाम, स्वामी, चाइना गुलाब, निलजाइ, सिंगापुरे हेज, असारे, कोरोटनलगायत बिरुवा रोपिएको मेयर महतले बताए । फूल फुलेपछि हेटौंडा थप सुन्दर देखिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय