आज क्रिसमस : क्रिश्चियन धर्मावलम्बीले धुमधामकासाथ मनाउँदै

पछिल्लाे समाचार

०९ पौष, काठमाण्डाै – क्रिश्चियन धर्मावलम्बीहरूले आज क्रिसमस दिवस मनाउँदैछन् ।अङ्ग्रेजी पात्रो अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मावलम्बीले आज क्रिसमस मनाउन लागेका हुन् । दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उहाँले मानव समुदायका लागि पुर्‍याएको योगदानको सम्झनामा ईस्वी संवत् चलाइएको विश्वास गरिन्छ।

क्रिसमस दिवसका अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ । ‘ख्रीष्टमस’ पनि भनिने यस अवसरमा आज देशभरका चर्चहरुमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ । क्रिसमसमा येशुको शिक्षा एवम् उपदेशको मनन गर्नुकासाथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ । क्रिसमसका अवसरमा काठमाण्डौ, ललितपुर, भक्तपुर, पोखरालगायत सहरमा विशेष रौनक छ । बजार र ठूला व्यापारिकस्थलमा क्रिसमस ट्रीलगायतले सजाइएको छ ।

क्रिसमसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतले शुभकामना सन्देश दिनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना व्यक्त गर्दै यस पर्वले राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको बताउनुभएको छ । चाडपर्वको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवम् धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि हुनाका साथै राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने राष्ट्रपतिको विश्वास छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय