अखिलेश कुमार यादव । १० माघ,सिमरा : जीतपुरसिमरा उपमहानगर भित्रकै सबैभन्दा पुरानो विद्यालयक रुपमा जीतपुरमा रहेका फकिरा गिरि राजेश्वर गिरि माध्यमिक विद्यालयलाई चिनिन्छ । नगरकै सबैभन्दा पुराना विद्यालयमा अहिले कक्षाकोठाको अभाव देखिएको छ । विद्यालयमा प्रत्येक वर्ष विद्यार्थी संख्या बढे पनि कक्षाकोठाको संख्या बढ्न सकेको छैन ।भवन निर्माणको लागि ठेक्का अव्हान भए पनि भवन निर्माणको काम अलपत्र परे पछि पठनपाठनमा समस्या थपिएको छ ।
फकिरा गिरि राजेश्वर गिरि माध्यमिक विद्यालयमा अहिले करिब १२ सयको हाराहारीमा विद्यार्थी संख्या रहेको छ । विद्यार्थी संख्या अनुसार कक्षाकोठा नभएपछी अहिले पठनपाठनमा समस्या आएको विद्यालयका प्रधानध्यापक राजु सिंहले बताए । उनले भने कक्षाकोठाको अभावमा विद्यालयको पठनपाठननै ठप्प हुने अवस्थामा पुगेको छ । फकिरा गिरि राजेश्वर गिरि माध्यमिक विद्यालयको ४ कोठे भवन निर्माणको लागि जीतपुरसिमरा उपमहानगरपालिकाले १ करोड ४१ लाख बजेट बिनियोजन गरेर ठेक्का अव्हान गरेको थियो । ठेक्का सकार भए पनि ठेकेदार कम्पनीको ढिलासुस्तीको कारण विद्यालयको ४ कोठे भवन निर्माण कार्य अलपत्र बनेको छ ।
जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जितपुरमा रहेको श्री फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विद्यालयको भवन निर्माण गर्ने ठेकेदारले आनाकानी गरेको कारण नै विद्यालयको भवन निर्माण कार्य अलपत्र बनेको जीतपुरसिमरा उपमहानगरपालिका ७ का वडाध्यक्ष सुनिल कुमार गुप्ताले बताए । जितपुरसिमरा नगरभरिका पुरानो विद्यालयको रूपमा ख्याति प्राप्त विद्यालय हो । एनके कन्ट्रक्सन वीरगञ्ज प्रालीले ठेक्का सकार गरेको थियोे । अहिले ठेक्का सकार गरेको ठेकेदारले अरुलाई ठेक्का दिएकोले भवन निर्माणमा ढिलासुस्ती भएको विद्यालयका प्रधानाध्यापक राजु सिंहले बताए ।
विद्यालयमा भवन अभावको कारण अहिले दुई सिफ्टमा कक्षा संचालन भईरहेको विद्यालयले जनाएको छ । बिहान ६ बजे देखि कक्षा ६ देखि १२ सम्मको कक्षा संचालन भईरहेको छ भने ११ बजेदेखि बेलुका ४ बजे सम्म शिशु कक्षा देखि कक्षा ५ सम्म पठनपाठन हुदैं आएको विद्यालयका प्रधानध्यापक राजु सिंहले बताए । कक्षा कोठाको अभावको कारण चिसोको मौसममा समेत २ सिफ्टमा कक्षा संचालन गर्नु परेको विद्यालयले जनाएको छ । चिसो जस्तो मौसममा पनि विद्यार्थीहरुको स्वास्थ्यमा असर पर्ने गरि विद्यालयको पनि पठनपाठन गर्ने रहर नरहेको विद्यालय परिवारले जनाएको छ ।