२७ माघ,कलैया : बारा प्रहरीले ७५० लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरेको छ।इलाका प्रहरी कार्यालय, अमलेखगंज बाराबाट खटिएको प्रहरी टोलीले बाराको जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.२१ अमलेखगंज चोक स्थितमा हेटौडा बाट वीरगंज तर्फ आउँदै गरेको विभिन्न सवारी साधनहरू रोकी चेक जाँच गर्नेक्रममा लुकाई छिपाई राखेको २५ पोका र ५ ओटा गिलन अन्दाजी ७५० लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरेको हो ।
मदिराको अनुमानित बजार मूल्य ७५ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।बरामद गरिएको मदिरालाई कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायको उपस्थितिमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश सापकोटाले जानकारी दिए ।