२८ माघ ,सिमरा : जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले सोमबार संघको कार्यालयमा एक समारोहबीच जिल्ला प्रहरी कार्यालय बाराका नवआगन्तुक प्रहरी उपरीक्षक प्रहरी प्रमुख सन्तोष तामाङ्गलाई स्वागत गरेको छ । जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले विगत लामो समयदेखि जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको सम्बन्ध प्रहरी प्रशासनसँग सुमधुर रहदै आएको बताउँदै आगामी दिनहरूमा पनि सम्बन्ध अझ बढी प्रगाढ रहने अपेक्षा व्यक्त गर्नुभयो ।

उहाँले जिल्लाको आर्थिक, समाजिक एवं समग्र विकासका लागि प्रहरी कार्यालयसँग हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।संघका पूर्वअध्यक्ष संजय साहले संघको विगतदेखि वर्तमानसम्मको इतिहासका बारेमा जानकारी गराउँदै संघ व्यवसायीहरूको संस्था भए तापनि सामाजिक उत्तरदायित्वको कार्यमा पनि निरन्तर लागि रहको बताउनुभयो ।जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका महासचिव प्रकाश गिरीले औधोगिक करिडोरको वस्तुस्थितिबारे प्रहरी प्रमुखलाई जानकारी दिन कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।कार्यक्रममा प्रहरी प्रमुख तामाङ्गलले जीतपुरसिमरा आर्थिक, सामाजिक एवम् रणनीतिक हिसाबले महत्वपूर्ण ठाउँ भएको बताउँदै उद्योगी व्यापारीको समस्या समाधान गर्नका साथै निजी क्षेत्रको उत्थानका लागि प्रहरी सदैव सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

साथै जिल्लाको शान्ति, सुरक्षा कायम राख्न कटिबद्ध रहने र कानुन प्रावधानमा रहेर व्यापार व्यवसाय गर्न सबैमा अनुरोध गर्नुभयो ।जीतपुरसिमरा उद्योग वाणिज्य संघले सोमबार आयोजना गरेको स्वागत परिचय तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक तामाङ्गले सुरक्षा बिना विकास र सम्वृद्धि सम्भव नभएको भन्दै आम व्यवसायी र नागरिकको सुरक्षामा कुनै कमि हुन नदिने समेत प्रतिबद्दता व्यक्त गर्नुभयो कार्यक्रमा जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका सदस्यहरुको सहभागिता रहेको थियो ।