०६ फाल्गुन ,सिमरा : बारा जिल्लामै पहिलोपटक शिक्षकको खातामा सिधै तलब पठाउन बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले शुरु गरेको छ । यसअघि मासिक रुपमा विद्यालयको खातामा तलब निकासा गर्दै आएको उपमहानगरले फागुनदेखि शिक्षककै खातामा सिधै तलब निकासा हुने व्यवस्था मिलाएको छ । शिक्षकको खातामा सिधै उपमहानागरले तलब पठाउन सुरु गरे पछि शिक्षकहरु उत्साहित भएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिकाका शिक्षा अधिकृत खुलप्रसाद गौतमका अनुसार सोमबार सबै शिक्षकको माघ महिनाको तलब ब्यक्तिगत खातामा निकासा भइसकेको छ । यसअघि उपमहानगरपालिकाले विद्यालयको खातामा तलब पठाउने गरेको थियो । विद्यालयको खातामा उपमहानगरपालिकाले पठाएको पैसा फेरि शिक्षकको खातामा पठाउन प्रधानाध्यापकहरुले एकसातासम्म लगाउने गरेका थिए । लेखापाल नभएका आधारभूत विद्यालयका प्रधानाध्यापकहरुलाई तलब निकासा अतिरिक्त बोझका रुपमा रहेको थियो ।
नेपाल राष्ट्रिय शिक्षक संगठन बाराका नेता बरुण गौतमका अनुसार विद्यालयको खातामा आएको पैसा पनि कतिपय विद्यालयका प्रधानाध्यापकले आफ्नो ‘मुड’ अनुसार शिक्षकको खातामा पठाइदिन्थे । ‘काम गरेको पारिश्रमिक लिन प्रधानाध्यापकको भरपर्नुपर्ने बाध्यतामा भएका शिक्षकहरु उपमहानगरको कार्यबाट खुशी भएको गौतमले बताए ।उपमहनागरको यो निर्णयको अहिले प्रशंसा भईरहेको छ ।
नेरामावि फतेपुरकी मावि शिक्षक लिला दाहालले सामाजिक सञ्जालमा छुट्टै खुशीको अनुभूती भएको उल्लेख गर्दै उपमहानगरलाई धन्यवाद दिएकी छिन् । ‘पहिलोपटक शिक्षकहरुको मासिक तलबभत्ता शिक्षकहरुको खातामा दाखिला गरिदिनुभएकोमा उपमहानगरपालिकालाई धन्यबाद, आज छुट्टै खुशीको अनुभुती ।’ दाहालले फेसबुकमा लेखेकी छन् । जीतपुरसिमरा उपमहानगरपालिकाको शिक्षकहरुले सिधै आफ्नो खातामा तलब पठाएको उपमहानगरलाई मुरी मुरी धन्यवाद ज्ञापन गरेको छ ।