२० फाल्गुन,कलैया : जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले मुलुकमा सङ्घीयतालाई कमजोर पार्ने षड्यन्त्र भइरहेको बताएका छन्।सोमबार बारा जिल्लाको फेटा गाउँपालिकामा आयोजना गरिएको बृहत् आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा उनले सङ्घीयतालाई कमजोर पार्न देशकै ठूला पार्टीहरू लागेको आरोप लगाए।अध्यक्ष राउतले सरकारले दल विभाजनको अध्यादेश ल्याउन खोज्नु मधेसवादी दललाई कमजोर बनाउने खेल भएको धारणा राखे।सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई संस्थागत गर्दै सङ्घीयतालाई मुलुकमा टिकाइ राख्न जरूरी रहेको बताउँदै उनले प्रदेशको मातहतमा प्रहरी नआएसम्म काम गर्न निकै गाह्रो हुने जिकिर गरे। उनले प्रदेश सरकारसित प्रहरी नभएकाले सिरहाकी बलात्कार पीडित रिंकु सदाले न्याय पाउन नसकेकोले प्रदेश सरकारलाई अधिकार दिनुपर्ने उनले बताए।
देशमा काम गर्नको लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री,रास्ट्रपति हुनुपर्ने कुरामा राउतले जोड दिएका थिए।पहिले गाउँघरमा हिलो हुने गरेकोमा संघीयताकै कारण अहिले गाउँ गाउँमा सडक ढलान भइरहेको उनले बताए। मधेसमा दलित, मुस्लिम, मुसहरसित भूमि नभएको बताउँदै पहाडबाट लाखौं मानिसलाई ल्याएर भूमि बाँड्ने र ३५ लाख मानिसलाई लालपुर्जा दिने पनि षड्यन्त्र भइरहेको राउतको भनाइ थियोे।कार्यक्रममा पार्टीका केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरू प्रभुनाथ पटेल, रौशन खातुन, पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश साह, बारा जिल्ला अध्यक्ष शिवनाथ पटेललगायतले सम्बोधन गरेका थिएकार्यक्रममा विभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका थिए। उनीहरुलाई राउतले फूलमाला लगाएर स्वागत गरेका थिए।