२२ फाल्गुन,कलैया ः जिल्ला प्रहरी कार्यालय बाराले पछिल्लो एक महिनाको प्रगति विवरण सार्वजनिक गरेको छ। उक्त विवरण अनुसार अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, ट्राफिक व्यवस्थापन तथा अन्य विविध क्षेत्रमा उल्लेखनीय सफलता हासिल भएको जनाइएको छ।प्रहरी नायब उपरीक्षक (डीएसपी)को नेतृत्वमा भएको अभियानमा विभिन्न आपराधिक गतिविधिमा संलग्न ५२ जना व्यक्तिहरूलाई पक्राउ गरिएको छ। फरार प्रतिवादीबाट कुल जरिवाना रकम १३ लाख ८६ हजार ८ सय रुपैयाँ असुल गरिएको छ भने, उनीहरूलाई १२ वर्ष ७ महिना १४ दिन कैद सुनाइएको छ ।
लागूऔषध नियन्त्रणको अभियानअन्तर्गत, प्रहरीले ठूलो परिमाणमा लागूऔषध र त्यसमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएको छ।लागुऔषध नियन्त्रण अन्तर्गत ३२०.३०९ केजी गाँजा, २९.४५१ केजी अफिम, र १७०.४ मिलीग्राम ब्राउन सुगर बरामद गरिएको छ । लागुऔषध मुद्दामा २२ नेपाली पुरुष, २ नेपाली महिला, र ४ भारतीय पुरुषसहित कुल २४ जना पक्राउ परेका छन् ।विशेषगरी सीमा क्षेत्रमा कडाइका साथ चेकजाँच तथा गस्ती बढाइएको छ। यातायात क्षेत्रमा समेत प्रहरीले सक्रियता देखाएको छ। नियम उल्लङ्घन गर्ने ३६ सय २८ सवारी साधनलाई कारबाही गरिएको ट्राफिक व्यवस्थापनतर्फ माघ महिनामा १९ लाख ८५ हजार ५ सय रुपैयाँ र फागुन महिनामा १० लाख ५५ हजार रुपैयाँ राजस्व संकलन गरिएको छ ।
सार्वजनिक सेवा र स्थानीय समुदायसँगको सहकार्यलाई प्राथमिकता दिँदै, प्रहरीले विभिन्न सचेतना कार्यक्रम तथा शान्ति सुरक्षासम्बन्धी छलफल पनि आयोजना गरेको छ। विद्यालय तथा समुदायस्तरमा १४ भन्दा बढी सचेतना कार्यक्रम सम्पन्न भएका छन्।प्रहरीले आगामी दिनमा पनि शान्ति सुरक्षा तथा अपराध नियन्त्रणका लागि जनसमुदायसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।