महाशिवरात्रि पर्वको अवसरमा ८९ औं त्रिमूर्ती शिव जयन्ती महोत्सव अन्तर्गत आध्यात्मिक प्रवचन कार्यक्रम सम्पन्न

पछिल्लाे समाचार

२५ फाल्गुन ।सिमरा : महाशिवरात्रि पर्वको पावन अवसरमा ८९ औं त्रिमूर्ती शिव जयन्ती महोत्सव अन्तर्गत “वर्तमान समयमा महाशिवरात्रि पर्वको अद्वितीय महत्व” विषयमा आध्यात्मिक प्रवचन कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम ब्रह्माकुमारी राजयोग उपसेवा केन्द्र जीतपुरको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा सभाध्यक्षता ब्रह्माकुमारी राजयोग क्षेत्रीय कार्यालयकी संचालिका रेनु दिदिले गरेकी थिइन् भने प्रमुख अतिथिका रूपमा पूर्व मन्त्री किसान कुमार श्रेष्ठ उपस्थित थिए।

प्रमुख अतिथि किसान कुमार श्रेष्ठले महाशिवरात्रिको आध्यात्मिक र सांस्कृतिक महत्वमाथि प्रकाश पार्दै भने, “महाशिवरात्रि आत्मशुद्धि र आत्मानुशासनको पर्व हो। यसले मानिसहरूलाई सत्कर्मतर्फ उन्मुख गराउने प्रेरणा दिन्छ। वर्तमान समयमा समाजमा देखिएको असन्तुलनलाई सही मार्गमा ल्याउन शिवका शिक्षाहरू अत्यन्तै सान्दर्भिक छन्।” उनले अध्यात्मको माध्यमबाट समाजमा शान्ति र सद्भाव स्थापनाका लागि सबैले आ-आफ्नो स्थानबाट योगदान गर्नुपर्नेमा जोड दिए।

सभाध्यक्ष रेनु दिदिले महाशिवरात्रिको आध्यात्मिक पक्षबारे चर्चा गर्दै भनिन्, “यो पर्व केवल धार्मिक परम्परा मात्र नभएर आत्म-साक्षात्कार र परमात्मासँगको सम्बन्धको अनुभूति गर्ने महत्वपूर्ण अवसर हो। योग, ध्यान र सत्कर्ममार्फत आत्मालाई शुद्ध बनाउने अवसर महाशिवरात्रिले प्रदान गर्दछ।” उनले शिवको शिक्षालाई जीवनमा आत्मसात् गरेर नै साँचो अर्थमा सुख र शान्ति प्राप्त गर्न सकिने बताइन्।

कार्यक्रममा विभिन्न धार्मिक गुरुहरू, समाजसेवीहरू, तथा स्थानीय भक्तजनहरूको उल्लेखनीय उपस्थिति थियो। प्रवचनपछि ध्यान र शान्ति अनुभूति सत्र समेत सञ्चालन गरिएको थियो। अन्त्यमा, आयोजक ब्रह्माकुमारी राजयोग उपसेवा केन्द्र जीतपुरका प्रतिनिधिहरूले महाशिवरात्रिको अवसरमा आयोजित कार्यक्रममा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै अध्यात्म र सकारात्मक सोचमार्फत समाजमा शान्ति र समृद्धि फैलाउने लक्ष्यबारे चर्चा गरे। कार्यक्रममा उपस्थितहरूले प्रवचन र ध्यान सत्रबाट आध्यात्मिक उर्जा प्राप्त गरेको अनुभव साझा गरेका थिए।

spot_imgspot_img
spot_img

लोकप्रिय